Thursday, November 29, 2012

मातृभाषाविहीन बन्दै वरपौवाका मगर समुदाय



भरतपोखरी–५, वरपौवाका ७३ वर्षीय यामबहादुर वरगाउँले रानालाई मगर भाषा बोल्न त राम्ररी नै आउँछ तर, उहाँलाई साथ दिने कोही छैनन् भन्दा पनि हुन्छ ।
उहाँका पूर्खा स्याङ्जाको सिउँडीखालीबाट आएका हुन् रे । उहाँलाई मगर भाषा बोल्न मन लागेपनि कोही पनि बोल्ने साथी नपाउँदा दुःख लाग्छ रे । यी वरगाउँले रानालाई पनि पहिले मगर भाषा बोल्न नआउने रहेछ, ‘मलाई पनि पहिले त कहाँ आउँथ्यो र, म सानो छँदा मेरो बाबाले बोल्नुहुन्थेन तर, आमाले बोल्नुहुन्थ्यो । म खस कुरामा बोल्दा आमाले हप्काउनुहुन्थ्यो । त्यसपछि त, मैले पनि डरले मगर भाषामै जबर्जस्ती बोल्न थालें अनि त, सिकिहालियो’, वरगाउँले भन्नुहुन्छ । उहाँलाई वरपौवाको सांस्कृतिक पहिचान हराएकोमा चिन्ता रहेछ । ‘म सानो छँदा, प्रजातन्त्र आउनुभन्दा पहिलेकै कुरो हो, घाँटु नाचेको हेर्न जाने भन्थे, तर, अहिले त सबै लोप भइसक्यो’, वरगाउँले रानाले भन्नुभयो ।
नेपाल मगर सङ्घ, वरपौवा एकाई समितिकी अध्यक्ष अनिता रानाका अनुसार अहिले वरपौवा गाउँमा कुल १४५ मध्ये २४ घरधुरी मगरहरूको बसोबास छ । मगर समुदायका बाहेक अन्य जनजाति भुजेल, दुरा एवम् खस, बाहुनको बसोबास छ, त्यहाँ ।
६८ वर्षीय हेमबहादुर पल्ली थापालाई पनि मगर भाषा बोल्न आउँदैन । ‘किताब लिएर यसो पढ्छु, तर, बोल्नै सकिएन’, पल्ली भन्नुहुन्छ । मगर जाति र भाषासम्बन्धी पुस्तक पढ्ने पल्लीको असाध्यै राम्रो बानी रहेछ । पल्ली भन्नुहुन्छ, ‘मसँग मगर जातिसम्बन्धी थुप्रै किताब छन्, मैले मगरहरूको उत्पत्तिबारेमा पनि केही ज्ञान भयो पुस्तक पढेपछि ।’
वडा अध्यक्ष भक्तबहादुर वरगाउँले रानाका अनुसार वरपौवामा मगरहरूको बसोबास घट्दै गएको छ । प्रायः गाउँलेहरू सहरतिरै बसाइँ सर्ने चलन बढेकाले मगरहरू संख्या क्रमशः घट्दै गइरहेको उहाँले बताउनुभयो । रानाले भन्नुभयो, ‘पहिले त विभिन्न संस्कृतिहरू पनि थिए, तर, अहिले त सबै लोप भइसके, गीत गाउने अनि रमाइलो गर्ने गरिन्थ्यो, आजभोली सबै हरायो ।’ ‘मगर भाषा पनि भाषा बोल्ने ठाउँबाट विहे गरेर आएका नयाँ बुहारीहरूले बोल्छन्, तर, अरूले बोल्दैनन्’, रानाले भन्नुभयो, ‘बाउबाजेले नै भाषा नबोलेकाले सिक्ने अवसरै पाइएन ।’
वरपौवाकै बासिन्दा मिनबहादुर आलेलाई पनि मगर भाषा र संस्कृति हराउँदै गएकोमा चिन्ता लागेको छ । ‘मगर भाषाको कक्षा चलाउन पाए त राम्रै हुन्थ्यो । मगर भाषा र संस्कृतिको उत्थानका लागि अब मगर सङ्घ, वरपौवा एकाईमार्फत् केही गर्ने सोंचेका छौं’, आले भन्नुहुन्छ । अहिले वरपौवामा पाटा राना, फेवाली राना, वरगाउँले राना, पल्ली थापा, पुलामी थापा र सिथुङ आले मगरहरूको बसोबास छ ।

रूद्र श्रीसमगर

No comments:

Post a Comment