Thursday, November 1, 2012

राष्ट्रको लागि अब आदिवासी कुशल नेताको जरुरत छ


हुम सुनारी मगर
२०४६ सालको पहिलो जन-आन्दोलन पछि नेपालमा प्रजातन्त्रको पुनर्बहाली पश्चात आदिवासी जनजाति समुदायका केही नेताहरू ब्राम्हण नेताहरूले नेतृत्व गर्ने राजनितिक दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) लगायत केही अन्य दलहरूमा आबद्ध भए । प्रजातन्त्रको पुनर्बहाली पश्चात पनि आदिवासी जनजातिहरूको मुद्धाहरूलाई ती राजनितिक दलहरूले सम्बोधन गर्न नसक्ने संकेत पाए पछि काम्रेड मदन भण्डारीका समकक्षी गोरे बहादुर खपाङ्गी मगर र एम एस थापा मगर माले परित्याग गरे ।
पछि मुलुकको सबै भन्दा ठुलो समूह आदिवासी जनजातिहरूको मुद्धाहरुलाई प्रमुख बिषय बनाएर नयाँ राजनितिक शक्तिको निर्माण गर्‍यो र आदिवासी जनजातिहरूको असली मुद्धाहरूलाई लिएर गोरे बहादुर खपाङ्गी मगर मुलुक भर आवाज उठाउदै हिंडे । उती बेला गोरे बहादुर खपाङ्गी मगरले उठाएका मुद्धाहरू सर्बसाधारण आदिवासी जनजाति जनताहरूलाई ठिकै लागे पनि हामीले नबुझ्ने भाषामा ब्राम्हणले फलाकेको मन्त्र नै सुद्ध माने जस्तै ब्राम्हण नेताहरूले नेतृत्व गर्ने दल नै राम्रो माने । बहु संख्यक आदिवासी जनजातिहरूको समर्थन नपाए पछि गोरे बहादुर खपाङ्गी मगरले उठाएका मुद्धाहरू ओझेलमा  पर्‍यो । त्यहि मौका छोपी तत्कालिन नेकपा (माओवादी) ले गोरे बहादुर खपाङ्गी मगरले उठाएका सबै मुद्धाहरू खोसेर जन युद्ध सुरुवात गर्‍यो । त्यहि मुद्धालाई प्रमुख एजेण्डा बनाएर नेकपा (माओवादी) ले संबिधान सभाको निर्वाचनमा गैइ राष्ट्रको सबै भन्दा ठुलो शक्तिको रुपमा उभियो । तर, जब नयाँ संबिधान बिना ऐतिहासिक संबिधान सभाको अन्त्य गराइयो बल्ल ती आदिवासी जनजाति समुदायका नेताहरू जो कांग्रेस र एमालेमा टांसिएर बसेका थिए l उनिहरुले ब्राम्हण नेताहरूको छलकपटी र फत्याइ थाहा पाएर धमाधम पार्टी परित्याग गरि अर्को नयाँ राजनितिक शक्तिको निर्माण गर्न कम्मर कसेका छन् ।
नयाँ राजनितिक शक्ति निर्माण गर्ने अभियानमा उपेक्षित समूह, जात जाति र अल्प संख्यक समुदायहरूको राज्य सत्तामा समान सहभागिता, समानुपातिक प्रतिनिधित्व हुनु पर्ने र नयाँ संबिधानले मुलुकमा सदियौ देखि बसोबास गर्दै आएका आदिवासी जनजातिहरूको पहिचानको लागि पहिचान सहितको संघिय प्रणालीको ब्यबस्था हुनु पर्ने भन्ने प्रमुख एजेण्डा बनाई नयाँ राजनितिक शक्तिको निर्माण गर्ने संघारमा अग्रगामी आदिवासी जनजाति नेताहरू पुगेका छन् जुन मुद्धाहरूलाई आज भन्दा २४-२५ बर्ष अगाडि गोरे बहादुर खपाङ्गी मगरले तिब्र रुपमा उठाएका थिए । हाल अग्रगामी नेताहरू अशोक राई, चैतन्य सुब्बा र कृष्ण भत्तचन लगायत केही अन्य आदिवासी जनजाति नेताहरू नयाँ शक्तिको निर्माण गर्ने जुन अभियानमा लाग्नु भएको छ म वहाँहरूलाई यसै लेख मार्फत के सन्देश दिन चाहन्छु भने, यदि तपाईंहरू साच्ची कै मुलुकको बहु संख्यक आदिवासी जनजातिहरू लगायत सम्पुर्ण उपेक्षित बर्गहरूको खातिर नयाँ शक्तिको निर्माण गर्दै हुनुहुन्छ भने "खोला तरेर लौरो बिर्सने" काम नगर्नु होला ।

गोरे बहादुर खपाङ्गीको म यहाँ थोरै चर्चा गर्न चाहन्छु । गोरे बहादुर खपाङ्गी तत्कालिन राजाले मन्त्री नबनाउन्जेलसम्म अधिकांश आदिवासी जनजातिहरूको नजरमा एक महान अग्रगामी नेताको रुपमा चिनिन्थ्यो । उनले राजाको हातबाट दशैं टिका लगाउनु भन्दा उनी एक आदिवासी जनजाति समुदायका उच्च ब्यक्तिले कनिष्ट मन्त्री पदलाई स्विकार्नु उनको गल्ति थियो जुन घटना एम एस थापाले पनि पछि दोहोर्याए । उनीहरू त राष्ट्रध्यक्ष अथवा सरकार प्रमुखको दाबेदार ब्यक्तिहरू थिए पार्टीको नेतृत्व पंतीको हैसियतले । गोरे बहादुर खपाङ्गी मगरले तत्कालिन राजाको हातबाट दशैं टिका लगाएर कुनै अपराध गरे जस्तो मलाई लाग्दैन । म यो कुन अर्थमा भन्छु भने हिजो गोरे बहादुर खपाङ्गी मगरले उठाएका मुद्धाहरू मध्यको एक प्रमुख मुद्धा "मुलुकलाई धर्म निरपक्षता" बनाउनु पर्छ भन्ने हो तर त्यो अवस्था त्यति बेला थिएन । नेपाल विश्वको एक मात्र हिन्दू राष्ट्रको रुपमा थियो र त्यसमा पनि राजाको प्रत्यक्ष शासन भएको अवस्था थियो । हिन्दू राष्ट्रको एक कर्मचारीको रुपमा भए पछि गोरे बहादुर खपाङ्गी मगरले हिन्दू राष्ट्रको चलन चल्तीलाई त्याग्नु र अबहेलना गर्नु त्यो मुलुक कै मुल कानुन बिपरित साबित हुने थियो जुन त्यति बेला कै अर्का मन्त्री महमद मोहसिनले पनि हिन्दुकरणलाई स्विकारे कै थिए । त्यसैले म फेरि दोहोर्याउन चाहन्छु गोरे बहादुर खपाङ्गी मगरले दशैंको टिका लगाएर गल्ति गरेको नभै एक कनिष्ट मन्त्री पद स्विकार्न पुग्नु उनको गल्ति थियो । तर, उनलाई दशैं टिका लगाएको निहुमा मिडियाले उनको बिरोध ब्यापक रुपमा लेखियो र सबै आदिवासी जनजातिहरू पनि ती मिडियाको पछि लागे । महमद मोहसिनको उती बेला कुनै चर्चा हुदैनथ्यो र मिडियाले पनि तीनको कुनै चांसो देखाएनन् तर, गोरे बहादुर खपाङ्गी मगरले बढी चर्चा भएको र खुलेवाम ब्राम्हणवादको बिरोध गर्ने भएकोले मिडियाले उनलाई सिद्ध्याउने मौका पाए । तर, आदिवासी जनजातिहरूले वास्तबिकता बुझ्न सकेनन् र तिनीहरू पनि ब्राम्हणवादी नै भए, होईन भने मुस्लिम समुदाय चुप्प लागेर बस्दा आदिवासी जनजातिहरूलाई बढी किन चांसोको बिषय बन्यो रु अझ बढी यो मामेलामा हाम्रै मगर अग्रजहरू नै अनावश्यक रुपले गोरे बहादुर खपाङ्गी मगरलाई नङ्ग्याउने खेलमा लागे । दशैंको टिका त अस्तिको दशैंमा पनि ब्राम्हणवाद र हिन्दुवादको खुलेवाम बिरोध गर्ने अग्रगामी आदिवासी जनजाति नेताहरूले पनि लगाएकै छन् । के दशैंको टिका लगाएकै निहुमा जस्ले एकलै एकात्मक राज्यसत्ताको बिरोध गर्ने महान योद्धालाई बिर्सेर अग्रगामी शक्तिको निर्माण गर्दा त्यो नयाँ शक्तिको बिश्वसनियता होला रु गोरे बहादुर खपाङ्गी मगरले एक अन्तरवार्तामा भनेका छन् की मलाई आज सम्म नयाँ राजनितिक शक्ति निर्माण गर्न जुटेका कुनै पनि नेताहरूले सल्लाह त के संपर्क सम्म पनि गरेका छैनन् भनेर । के म यसो भन्न सक्छु की एउटा आधुनिक घरको निर्माण गर्न एक ईन्जिनियरले प्लान बनाएर दिने तर घर निर्माण गर्ने बेलामा त्यो ईन्जिनियरको योग्दानलाई नै बिर्सी दिने रु गोरे बहादुर खपाङ्गी मगर त्यो आधुनिक घर निर्माण गर्न प्लान बनाइदिने ईन्जिनियर हुन । त्यो नयाँ घर बनाउनको लागि जग निर्माण गर्ने देखि लिएर घरको फिनिशिङ गर्दा सम्म ईन्जिनियर सँग परामर्श लिनु अती आवश्यक हुन्छ । ईन्जिनियरको परामर्श बिना बनेको घर कुनै पनि बेला भत्किन सक्छ, यो कुरा सबै अग्रगामी आदिवासी जनजाति नेताहरू जस्ले गोरे बहादुर खपाङ्गी मगर कै प्लानमा नयाँ राजनितिक शक्तिको निर्माण गर्दै हुनुहुन्छ त्यस्को सिल्यान्यास हुनु भन्दा अगाडि गोरे बहादुर खपाङ्गी मगरले आवश्यक्ताको महसुस गरोस भनि सुझाव दिन चाहन्छु ।
म एक मगर भएर गोरे बहादुर खपाङ्गी मगरको समर्थन गरि यसो भनेको पनि होईन । उनले सृजना गरेको पथमा हामीले हिड्ने सोच र साहस बनायौ भने त्यो पथमा हिंड्नको लागि गोरे बहादुर खपाङ्गी मगरलाई पनि अगाडि हिंड्न लगाउनु पर्छ भनेको हो । हामी सबै सचेत आदिवासी जनजातिहरूले हाम्रो अधिकार प्राप्तीको सुनिश्चितताको लागि हाम्रै आदिवासी जनजातिले नै नेतृत्व गर्ने एक राजनितिक शक्तिको महसुस गर्यौ र त्यो नयाँ शक्तिको निर्माण गर्ने अभियानमा छौ भने एउटै बिचार र साझा धारणा बोकेका सबै आदिवासी जनजाति बिद्धिजिवीहरू, आदिवासी जनजातिहरूले नेतृत्व गर्ने केही नयाँ र पुराना राजनितिक दलका नेताहरू एक ठाउँमा आइ सम्पुर्ण आदिवासी जनजातिहरूलाई एउतै छाता मुनि गोल्बन्द गराउनका लागि एकजुट भएर अगाडि बढ्नुको अर्को बिकल्प नभएको कुरामा म ठोकुवा गर्दछु । होईन भने, मुलुकको सबै भन्दा ठुलो समूह आदिवासी जनजातिहरूलाई बिभिन्न भागमा बिभाजित गराएर हाम्रो मुद्धाहरूलाई समाधान गर्न खोज्नु दिवा सप्ना मात्रै हुने कुरामा दुई मतै छैन । 

No comments:

Post a Comment