Wednesday, November 21, 2012

भाषिक र साँस्कृतिक अतिक्रमण



२०६७ भदौ ९ गते कान्तिपुरमा प्रकाशित मगरहरूले जनै फेरे भन्ने समाचार पढे पश्चात केही लेख्न मन लाग्यो । र, तपाईकै कान्तिपुरमा प्रकाशनको लागि पठाएको छु । प्रो. राजनाथ पाण्डेले प्राचीन कालमा मगरलाई ‘मंगल भनिन्थ्यो । मगरहरू मंगोल जातिको हाँगा भएकोले उनीहरूलाई ‘मंगल भनिनु स्वभाविकै हो । पछि अप्रभंशवस मंगलवाट ‘मगर भनिएको हुनसक्छ । सिक्किममा पहिले मगरहरूलाई ‘मंग

र भनिन्थ्यो । सिक्किममा मगर नामाकरणको विषयमा मगरहरू ‘माङ्क वा मङ्क वा मङ्कोलको सन्तानहरू भएकोले ‘मगर शब्द रहन गएको भन्ने विश्वास गरिन्छ । चिनियाँ र वर्मेलीहरू ‘माङ्क वा मङ्कलाई ‘मंगोलियन भन्ने गर्दछन् र ‘अर वा अरूई भन्नाले ‘सन्तान सम्झन्छन् । यसैले ‘माङ्क र अर वा मङ्क र अर बाट ‘माङ्कर वा मङ्कर हुन जान्छ । ‘मंगरको अर्थ ‘माङ्क वा मङ्क वा मंगोलको सन्तान जनाइने हुनाले ‘मगर भएको हुन सक्छ । (लाफा ०४९, वर्ष १, अंक १)

चार हजार पर्वतमा भएको अतिक्रमण
मगराँत क्षेत्रमा १५ देखि १६ औं शताब्दीतिर पाल्पाली सेन राजाहरूले हिन्दुकरणमा जोडदिएको देखिन्छ । तर यस क्षेत्रमा राजा राम शाह (१६०३–०३६) को थितिको भने निकै ठूलो प्रभाव परेको देखिन्छ । राम शाहले हिन्दु विधिशास्त्रमा आधारित न्याय व्यवस्थालाई सुदृढ गरे, बाहुनहरूको प्रतिष्ठा र मान बढ्यो, उनीहरूले बढी विर्ता जग्गाहरू पाउन थाले, उनीहरूको रैकर जग्गा पनि बढी सुरक्षित हुन पुग्यो । बाहुन, सन्यासी, बैरागी, भाट र चौतरियाले ज्यान मारे पनि कपालमात्र मोडेर देश निकाला गरिदिने थिति विकसित भयो
वि.सं १४९३ मा आनन्द बमको राज्य पर्वतमा स्थापना भएको मानिन्छ । भारत वर्षमा साम्राज्यको स्थापना भएपछि हिन्दु धर्म, संस्कृति र परम्परा जोगाउन दुर्गम उत्तरी पहाडतिर छिरेका ब्राह्मणहरूको धार्मिक प्रभाव यस क्षेत्रमा निकै बढ्न थाल्यो । भारतीय पण्डितहरूको धर्मशास्त्र र कर्मकाण्डमा रहेको विशेष दखलले यस क्षेत्रका सोझा मगरहरूलाई प्रभावित गर्नु स्वाभाविक थियो । (ऐतिहासिक पर्वत राज्य) विकट पहाडमा बसोबास गर्ने प्रकृतिपूजक मगरहरूलाई जर्वजस्त हिन्दु बनाइएको प्रमाण ऐतिहासिक पर्वत राज्य पुस्तकमा पाइन्छ । सोझा मगरहरू राज्य शक्तिको डर–त्रासमा आफ्नो धर्म परिवर्तन गरे पनि व्यवहारमा उनीहरू मौलिकतालार्र्ई भूल्न सकेनन् । जसले गर्दा हिन्दुकृत भए पनि परम्परागत रहनसहन, रीतिरिवाजले उनीहरू हिन्दु होइनन् भन्ने प्रमाण दिलाउँछ । जनै फेरेका ती मगरहरूकै गाविसमा ४७ सय मिटर अग्लो ठाउँमा रहेको खयर तालमा पूर्णिमाको दिन खयर बराहाको पूजा वर्षेनी गरिन्छ । साथै शिख गाउँ नजिक रहेको नाकाजीको थानमा सोही दिन नाकाजी बराहाको पूजा गर्ने गरिन्छ । जुन प्रकृति पूजा हो ।

१२ औं देखि १४ औं शताब्दी बीच पश्चिममा गण्डक र कर्णाली प्रदेशतिर बस्ने बाहुन–क्षेत्रीहरूबाटनै हिन्दुकरणको प्रक्रिया प्रारम्भ भएको हो । सबभन्दा पहिले कर्णाली प्रदेशका बौद्ध तथा प्रकृतिपूजक खसहरू मध्ये राजा, रजौटा, ठूला–ठालु र हुनेखानेहरू हिन्दु बने र क्षेत्री, ठकुरी आदि भए (बिष्ट १९९६) । त्यसपछि क्रमशः यो प्रक्रिया फैलदै गयो । जनजातिहरू मध्ये सबभन्दा पहिले मगरहरू हिन्दु बाहुन, क्षेत्री, ठकुरीको प्रभावमा परेर हिन्दु संस्कारहरू ग्रहण गर्न पुगे (शर्मा १९९७) ।

चन्द्रप्रकाश बानियाँका अनुसार बाईसे चौबिसे राज्य रहेको त्यस बेलाको राज्यमा अधिकांश ठाउँमा राजा वा त्यस ठाउँको हर्ताकर्ता (मुखिया) पनि मगरहरू थिए । जसको कारण म्याग्दी, पर्वततिरका अधिकांश ठाउँको नाम मगर भाषामा राखिएको छ । मेङ्डीबाट अपभं्रश भई बनेको म्याग्दी– मगर शब्द नै हो । मेङ् र डीको अर्थ हुन्छ मुलको पानी । बुढापाकाहरू अझै पनि म्याग्दीलाई मेङ्डी भनि उच्चारण गर्दछन् । यसै गरि सदरमुकाम बेनीको मगर रूप बेडी हो । जसको अर्थ हुन्छ – क्षेत्र/खण्ड । (पुन मगर एक अध्ययन)

म्याग्दीको पाखापानी गाउँका पाईजा राजा सम्बन्धी कथन अझै पनि बुढापाकाहरूबाट सुन्न पाइन्छ । यसैले ४ हजार पर्वतमा रहेका राजा मध्ये टुल्कु पाईजा पनि एक हुन् । (फिमला अंक ११–१२) इतिहाससँग सम्बन्धित यस्ता कुराहरू लिखित रूपमा जित्नेले क्रमशः हार्नेको इतिहास नष्ट गरिदिन्छ । इतिहास जित्नेहरूको घोडा हो । स–साना राज्यको अलिखित इतिहास ठकुरी राजाहरूको प्रभुत्व बढेपछि लेखिदिने कुरा आएन भने उनीहरूको पतन पछि पृथ्वीनारायण शाहका सन्तानले लेखिदिने कुरा झन रहेन । यसैले खोज्न गाह्रो हुन्छ । यसको मुख्यकारण पुराना कृति, हस्तलिखित किताबहरू सम्बन्धीत मान्छे मरेपछि चिहानमा फालिदिने वा जलाउने (षड्यन्त्रपूर्वक) कारणले हाम्रो ऐतिहासिक पाण्डुलिपिहरू हराउँदै गएको पनि सत्य हो ।

४ हजार पर्वतमा छन्त्याल र मगरहरू खानी खन्ने काम गरि जिविकोपार्जन गर्ने गर्दथे । र, उनीहरू आफ्नै भाषा, संस्कृतिमा रमाएका जातिहरू हुन् । विभिन्न ठाउँको राज्य जित्ने क्रममा आफु माथि षड्यन्त्र हुने सम्भावना देखेर जातीय भाषा बोल्नबाट वञ्चित गराउनुको साथै दण्ड तिर्ने व्यवस्था ठकुरी राजाहरूले लागू गरे । सबैलाई खस भाषा बोल्न लगाईयो । ४ पैसासम्म दण्ड तिराइन्थ्यो भन्ने कुरा अझै पनि बुढापाकाहरू भन्ने गर्दछन् । यही दण्डको कारण कालान्तरमा छन्त्याल भन्दा बढी मगरहरू पिडित बन्न पुगे । म्याग्दीमा छन्त्यालहरू अझै पनि मज्जाले भाषा बोल्छन् तर मगरहरू म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी, पाल्पाको पश्चिम भेगमा समेत भाषा बोल्दैनन् । यो त्यही दण्डको कारण मात्र नभई त्यो भन्दा ठूलो सजाय– मृत्युको भयको कारणले भएको हो भन्न सकिन्छ । मृत्युको त्रास मगरहरूमा निकै गराइएको वा आफ्नो भाषा बोल्न नछाड्ने कत्तिजनालाई सजाय दिएको हुनाले नै मर्ने त्रासको कारण उनीहरू भाषा विहिन हुन पुगे ।

ढोलठानको राजाले टुलुलाई पराजित गरेका हुन् भनिन्छ । ठकुरी राजाहरूले बेनी विजय गरेपश्चात नजिकमा रहेका राज्यहरूको आक्रमणबाट बच्न त्यहाँका मगर राज्यहरू मध्ये पाखापानीलाइ आफ्नो अधिनमा लिए । र, मल्ल राजाहरू पहिले मगर नै हुन् भन्ने कुरा पनि उठेको छ । मल्ल युद्धमा निपुण भएको हुँदा पाएको मल्ल उपाधि कालान्तरमा जात हुन आएको कुरा नकार्न पनि सकिन्न । र, नेपालमा जात फेर्नेमा सबैभन्दा बढी मगर अनि तामाङ जाति अगाडि आउँछ । २०५९ सालमा शिख गाविसका केही गर्बुजाहरू जनै लगाएर आफुलाई उच्च जाति बनाएको कुरा त्यति टाढाको पनि होइन । (कान्तिपुर)

आफ्नो जातीय प्रचलन नत्यागेकोदेखि उच्च जातिहरूले नेपालका विभिन्न जातिहरूको धर्म, संस्कृति र इतिहासलाई पूर्णरूपले नष्ट गर्ने वा नसके विकृत गर्ने षडयन्त्र जोडतोडले चलाए । पश्चिम नेपालका विशेष गरि म्याग्दी, गुल्मी, अर्घाखाँची र बाग्लुङ तर्फका मगरहरूलाई मगर भाषा बोलेमा ४ पैसा दण्ड लाग्ने व्यवस्था गरियो भने दशैं वा अन्य चाडपर्वमा जीवजन्तुको बली प्रथालाई लादियो । धेरै पछि पृथ्वीनारायण शाहका पालामा हिन्दू धर्म स्वीकार नगर्ने लिम्बुहरूलाई २ पैसा दण्ड लगाइयो भने तिरोको आधार जातीयतामा निर्धारण गरियो । हलो नजोत्ने भएकोले ब्राम्हणहरूलाई ‘कुटे कोदालो तिरो भनि एक रूपैया एक पैसा तिरो लगाइयो भने हलो जोत्ने यहाँका गैर ब्राम्हणहरू उपर ‘हले पाटेको तिरोको नाउँमा एक रूपैयाँ तेह्र पैसा कर लगाइयो । नेवारहरूलाई ‘छिपो छापो तिरो र सार्कीलाई ‘सुजेरो तिरोको रूपमा एक रूपैयाँ तेह्र पैसा कर निर्धारण गरियो । यसप्रकार जातको आधारमा निर्धारण गरेको तिरो र जातको आधारमा दण्ड सजाय भोग्नु पर्ने लालमोहर, सनद, रूक्का, खड्गनिशान, ऐन, कानुन नेपालमा भरिभराउ छ । (प्राचीन मगर र अक्खा लिपि) यसरी त्यसबेलादेखि नै खस नेपाली भाषाको विकास र प्रसारमा मात्र ध्यान दिइएन, अन्य राष्ट्रिय भाषाहरूको उन्मुलनमा पनि उत्तिकै जोड दिइयो (याक्खा राई १९९६, २७४–२७५) । अहिले म्याग्दीका मगरहरू जातीय भाषा विहिन भई खस भाषा बोल्ने भएका छन् । यसरी जातीय आत्म गौरवका वस्तुहरू माथि शासकले अतिक्रमण गरि आफूले गर्ने संस्कार अवलम्वन गर्न लगाईयो । धार्मिक सहिष्णुताको लागि मगरद्वारा सामूहिक जनैधारण– यो पछिल्लो थाहा पाईएको नमूना मात्र हो । (कान्तिपुर दैनिक, २०५९ भदौं ६) जसको निरन्तरता स्वरूप अहिले (२०६७) पनि उनीहरूले जनै फेरेका हुन् । शरूमा जनै फेर्न खोज्दा उनीहरूले कुन प्रकारको यातना भोगे । उनीहरू कहाँ गएर मात्र जनै फेरे । किन त्यस्तो व्यवहार भो बुझ्ने प्रयास उनीहरूले नै गर्नु पर्छ । सायद, त्यही बुझेर ३५ जनाबाट अहिले १८ जना मात्र भएका हुन् कि । जय करबाकेली ।

मेकबहादुर पुन मगर

No comments:

Post a Comment