Monday, November 19, 2012

महाभारत र पुराणमा मगर जातिका अस्पष्ट कुरा



____________________________________

मगर जाति दक्षिण एसियाकै अत्यन्त गौरवशाली इतिहासको धनी, अति प्राचीनतम जातिहरुमद्धे एक हो भन्ने कुरामा कुनै विवाद छैन | मगरहरुको राजपाटकोबारेमा महाभारतमा समेत उल्लेखगरिएको छ | मगर जातिको मौलिक भाषाले यो कुरालाइ प्रमाणित गर्दैन।
भारतीय विद्वानहरु महाभारतको लडाईं ३१३९ बि. सी. (आज भन्दा ५१५० वर्ष पहिले ) तिर लडिएको भन्ने दाबी गर्दछन् भने पश्चिमेली विद्वानहरु महाभारत महाकाव्य ४०० बि. सी. तिर लेखिएको हो भन्ने मान्दछन्| यो विवादको कुरो जे सुकै भए पनि मगरहरुको महाभारतमा समेत चर्चा हुनु एउटा चासोको विषय हो तर कुनै ठुलो आश्चर्यको कुरा होइन|

संस्कृत् महाकाव्य 'महाभारत'को खण्ड ६, अध्याय १२ मा मगरहरुको बारेमा यसरी उल्लेख गरिएको छ|


"तत्र पुण्या जनपदाश चत्वारॊ लॊकसंमताः

मगाश च मशकाश चैव मानसा मन्दगास तथा |३३|"

"मगा बराह्मणभूयिष्ठाः सवकर्मनिरतानृप

मशकेषु तु राजन्या धार्मिकाः सर्वकामदाः|३४|"

यहाँमाथि लेखिएको 'मगा' र 'मगाश'ले मगर जातिको राजालाई सम्बोधन गरेको हो भन्ने पश्चिमी विद्वानहरुको मत रहेको छ | यस बाहेक 'कुर्म पुराण' ४९.३६ र 'विष्णु पुराण' २.४.६९ मा"मंगर "अथवा (मंगरा) भन्ने उल्लेखगरिएको छ | यस्तो "मंगर " अथवा ('मंगरा')ले मगर जातिको पौराणिक कालमा पनि खासा वर्चस्व थियो भन्ने बुझ्न सकिन्छ|


यस्ता वृतान्तले मगर जातिलाई प्राचीन मगध राज्यसित सम्बन्धित रहेको पनि देखाऊछ| यो पनि अर्को खोजको विषय हो |


मगर जातिको संस्कृति अरुहरुद्वारा उनीहरुको स्वार्थ अनुकूल ब्याख्या गरियो वा हिन्दुकृत गरिएको छ | र त्यसलाई मगरहरुले आफ्नो हो भन्ने मानेका छन् र सोही अनुसार छेत्री वा खस जातमा परिणत हुदै गएका छन् | उनीहरु छेत्रीको जनसंख्या बढाउन उपयोग भएका छन् | यसलाई स्पस्ट पर्नु पर्दा हाल प्रचलित बाराही पूजा, हिन्दू दश अवतार भित्रको तेश्रो अवतार'बराह अवतार' को कुरा लाईलिन सकिन्छ |


दांग जिल्लाको बाह्रकुने ताल र त्यससित अन्तरसम्बन्ध राख्ने 'बाह्रभाइ मगर' राजाहरु , बाइस बज्यूर बाह्र मगराँतको कथा नै हिन्दू पुराणहरुमा आउने दश अवतार मध्ये तेश्रो अवतार बराह अवतारको कथा हो | म्याग्दीको खैरा बाराही, फेवातालको 'ताल बाराही' तनहुँ ढोरफिर्दीको ‘ढोरबाराही’, तनहुँ कै ‘छाब्दी बाराही’, गोरखा बराह बजारको 'बाराही स्थान', ललितपुरको 'बज्र बाराही' ,सांखुको बज्रयोगिनी (बज्रफाक्मो लाई तिब्बती भाषामा सुँगुर भनिन्छ) काठमाडौको" धुम्बाराही" र कोशी 'बराह क्षेत्रको (बराह मन्दिरको ) विषयमा हाम्रा मगरबन्धुहरुले चिन्तन गर्नु आवस्यक छ | सुँगुर वा बँदेललाई 'बराह' भनेर पछि संस्कृतिकरण गरिएको हो भन्न सकिने अवस्था छ |


स्रोत : बि. के. राना - संक्षिप्त मगर इतिहास - २०५९ - पृष्ठ २१

No comments:

Post a Comment