Sunday, November 4, 2012

मगरहरूको परम्परागत शासन – पञ्चतालुक/पञ्चअमालमा सञ्चार प्रणाली


बम कुमारी बुढा मगरबम कुमारी बुढा मगर
[ .]मगर, आदिवासी जनजातिहरूमध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको समुदाय हो । २०५८ सालको जनगणनाअनुसार मगरहरूको जनसङ्ख्या १६ लाख २२ हजार ४२१ छ । सोही जनगणनाबाट ‘खाम’ भाषालाई मगरको मातृभाषाको रूपमा स्थापित गरियो । तर, १८ मगरात क्षेत्रमा बोलिने भाषा ‘पाङ’ हो । यो समुदायभित्र विविधता छ । ठूलो भूगोल ओगटेको यो समुदायमा भाषिक, सांस्कृतिक, भौगोलिक, प्रथालगायत हरेक दृष्टिले यो समुदायभित्र विविधता पाइन्छ ।
मगर जातिको उद्गम थलो रुकुम जिल्लाको मैकोइस्थित योमाखार तथा पेल्माखार ओडार भएको मानिन्छ । गण्डकी नदीको किनारस्थित रिडीदेखि पश्चिम १८ र पूर्व १२ वटा प्राचीन मगर राज्यहरू थिए । सोही १८ मगर राज्यमा बस्ने मगरहरूलाई पछि गएर १८ मगरात र १२ राज्यमा बसोबास गर्नेहरूलाई १२ मगरात भन्न थालिएको मानिन्छ । १२ मगरात क्षेत्रका मगरहरू बढी सम्पर्कमा आउनाले आदिवासी जनजातिहरूले १२ मगरात क्षेत्रलाई बढी बुझ्छन् । १२ मगरातहरूमा प्रथाजन्य प्रणाली एकदमै कम छ । उनीहरूमा स्थायी प्रथाजनित संस्था छैन ।
१२ मगरातहरूको ‘भेजा’ भन्ने संस्था (Institution) होइन, यो प्रक्रिया वा काम (Action) मात्र हो । यो सभा, बैठक वा भेला अथवा विविध गतिविधि गर्ने प्रक्रिया मात्र हो । १८ मगरातमा यसतो भेला, सभा, बैठकलाई पञ्चकचहरी पनि भनिन्छ । मानिस भेला हुने, छलफल गर्ने, कचहरी गर्ने ठाउँलाई खलाङा (तोकिएको ठाउँ वा निश्चित गरिएको ठाउँ) भनिन्छ । सोही शब्द आजकाल खलङ्गा भनेर प्रचलनमा छ । हालसम्म पनि पश्चिम क्षेत्रका केही जिल्लाहरूमा खलङ्गा बजार तथा ठाउँहरू रहेको छ । उक्त नामको इतिहास यही मगरहरूको परम्परागत रूपमा भेला हुने ठाउँहरूको नामबाट राखिएको हो ।
पञ्च अर्थात पाँच जनाको कचहरी
विभिन्न कालखण्डहरूमा मगर राज्यहरू माथि दमन गरिएको इतिहास त छ । मगरहरूको यही पञ्चकचहरी प्रथालाई (२०१७ देखि २०४७ साल) को ३० वर्षे पञ्चायती कालमा अपनाएको र त्यस बेलाको पञ्चको मुखियालाई पञ्चायती व्यवस्थामा प्रधानपञ्चको रूपमा स्थापित गरियो ।
१८ मगरातका मगरहरूको परम्परागत शासनलाई पञ्चतालुक÷पञ्चअमाल वा तालुक÷अमाल नामले चिनिन्छ । जसलाई ‘पञ्च’ भनिन्थ्यो । पञ्च भनेको पाँचजनाको शासन समूह हो । यो प्रणालीमा मुखिया, जीमुवाल (जिम्मावाल), गौरा, तहविल र घाबुधा पाँचजनाको पदीय जिम्मेवारी बोकेका व्यक्तिहरू र यस्का अलावा पञ्चहरूले गरेको निर्णयलाई कार्यान्वयन गर्न र गराउन दुईजना थप पदहरू, बहिदार र कोईवाले (कटुवाल) को पनि व्यवस्था गरिएको हुन्छ । मुखिया भनेको मौजा अर्थात क्षेत्र वा समूह प्रमुख हो । मुखियाले कुनै विषय वा मुद्दामा छलफल चलाउँदा अन्तिम निर्णय दिन्छ । जिमुवाल (अर्थमन्त्री) ले सेरमा (जग्गाको कर) र खेतको कुत उठाउने काम गर्छ । गौरा (कोषाध्यक्ष)ले कोषको व्यवस्थापन गर्छ । तहविलले जनसम्पर्कको काम र कुनै रैतीहरू बीच वादविवाद परेमा ओसारा (एकान्तमा लगेर कुरा खोल्ने अनि चारबारे कचहरीमा जोराना (आम्ने–साम्ने) गराएर विवाद टुङ्गो लगाउने जिम्मा लिन्छ । यसरी नै घाबुधा पञ्चसमूहको सल्लाहकार हो । जस्ले तालुक÷अमालमा विशेष काम पर्दा सल्लाह दिन्छ ।
पञ्चकचहरीमा पाँचजना मात्र बस्दैनन् । कचहरीमा छलफल हुने विषयवस्तु वा मुद्दामा सरोकार राख्ने अन्य सबै सदस्यहरू जम्मा हुन्छन् र छलफल गर्छन् । अनि छलफलपछि वैदारले गजपत्र (अहिलेको तमसुकजस्तो)मा मिलापत्र लेख्छ । यो लेख्य परम्परा आएपछिको कुरा हो । गौराज्य (मौजाभित्र)को वैठकमा मान्छेहरू धेरै आउँछन् । सबैको ल्याप्चे कागजपत्रमा नअट्ने भए आवश्यकताअनुसार भात पकाएर, भातले गाँस्दै लामो कागजमा लेखी बेरेर राख्छन् । हाम्रो बा, बाजेहरू हाम्रो मौजाको मुखिया भएकोले हाम्रो घरमा त्यस्ता गजपत्रहरू अझैसम्म पनि छन् । पञ्चकचहरीले गइरो अर्थात गौराज्यका जनताले दिएको समादेशअनुसार, न्याय–निसाफदेखि गाउँका लागि चाहिने सम्पूर्ण विकास, निर्माण, सुरक्षा आदिका बारेमा निर्णय गर्ने र न्यायिक, सामाजिक सुधार, सुरक्षा, विकास गायत कामहरू गर्छन् । गौराज्यका जनताबाट उठाएको करबाट पञ्चकचहरीको निर्णयअनुसार विभिन्न पदधारण गर्ने व्यक्तिले खर्च गर्छन् ।
मुखियाको पद, उसको मृत्युपछि, जेठो छोरामा सर्ने चलन छ । मुखिया मर्दा छोरा नाबालक छ भने सो पद श्रीमतीमा सारिन्छ । त्यसैले मगरहरूको शासन राजतन्त्रात्मक शासन थियो र छ । यदि छोरा नालायक छ भने र मुखियाको नैतिक पतन भो भने पञ्चकचहरी बसेर उपयुक्त मान्छेलाई मुखियाको पद सारिदिन्छ ।
हाम्रो परम्परामा कोइवाले (कटुवाल)ले बाकोई अर्थात भाले बास्ने समयमा अग्लो ठाउँबाट दमा÷नङरा (दमाहा र नेगरा जस्तो बाजा) र झ्याली र खुत्याने (दमाको ताल) अर्थात दमा शुभो र अशुभो (शुभ र अशुभ) तालमा बजाएर, विभिन्न आवाजमा कराउँदै जनतालाई सूचना दिने गर्दथ्यो । जस्तो मान्छे मरेको छ भने अशुभो तालमा, कसैको विवाह, श्रमदान आदि गर्न मान्छे भेला गर्नुप¥यो भने शुभो तालमा बाजा बजाएर सूचना जारी गरिन्थ्यो । २–३ दिन पहिलेदेखि दमा÷नङरा बजाएर चारैतिरका मानिसलाई सूचना दिइन्थ्यो ।
‘बिहानै भाले बास्ने समयमा कटुवालले दमा बजाएर, आज यतिबेला छकाल, दिउँसो दोपल, गाई फुकाउने बेला, भात खाने बेला, फलना ठाउँमा भेला हुनुप¥यो । डोङ…. डोङ….डोङ ।’ ‘आज, फलाना ठाउँको जङ्गलका लागि, कुलोका लागि कचहरी बस्ने भयो हो । आज यो ठाउँको वनवारी यो हो । यो ठाउँको भिर फुकियो । घाँस फुकियो हो । डोङ, डोङ…डोङ’ गरी दमा बज्यो भने मान्छेहरू ढोका वा झ्यालनेर वा बाहिर निस्किएर कान थापेर दमा बजेको ताल सुन्छन् । र, तोकिएको ठाउँमा भनेको समयमा पुग्छन् । यसतो प्रथा मलाई सम्झना भएसम्म ३५/३६ सालसम्म चलेको थियो ।
हाम्रो परम्परामा लडाइँको एकदमै ठूलो महत्व छ । लडाईँसम्बन्धी खबर एकजनालाई सुटुक्क पठाइन्छ । त्यो गाउँको मुखियाले कसैलाई, ‘ल तिमी यो फलाना ठाउँमा जाऊ र त्यहाँबाट यतिजना तन्नेरीहरू घँगारुको लठ्ठी तेलमा भिजाएर, १/१ रूपैयाँ हिरनसहित लिएर आउँनू’ भनेर आदेश दिन्थ्यो । हिरन भनेको मरेको मान्छेको निधारमा राखिने पैसा हो । त्यो गाउँको मुखियाले भन्यो भने सबैले मान्नै पर्छ र तोकिएको ठाउँमा भेला भएर लडाइँ गर्ने चलन थियो । यो युद्धकला त माओवादीलेसमेत माओवादी जनयुद्ध (द्वन्द्व)मा धेरै प्रयोग गरे ।
कुनै मान्छेलाई समाचार पठाउनुलाई मगर समुदायमा शनेशा अर्थात नेपालीमा सन्देश पठाउँने भनिन्छ । सनेशा पठाउँदा साङ्केतिक वाक्य पनि प्रयोग गरिन्छ । त्यसमा ‘यो कुरा त्यहाँ पु¥याएर आ । त्यहाँ खाएर यहाँ हात धुन आ ।’ भनियो भने त्यो एकदमै महत्वपूर्ण रहेछ भन्ने बुझिन्छ । आजकाल पनि यसैगरी मुखियाको आदेशअनुसार कोईवाले घरघरमा गएर सन्देश छोड्ने प्रचलन छ ।
[स्रोतः द एथ्निक भ्वाईस, अंक १ बर्ष १]

2 comments: