Saturday, November 3, 2012

आदिकवि जीतबहादुर सिञ्जाली मगरसंग अन्तरवार्त


म प्रति शंका गर्नु गौरव लागेको छ ।


मगर भाषा साहित्य लेखन शुरु गर्नुको पछाडि कुनै खास कारण थियो कि ?
मलाई मेरो बुबाआमाको जति माया छ त्यति नै माया मेरो मातृभाषाको पनि लाग्छ । अर्को कुरा मातृभाषा नबुझी बाँकी संसार बुझ्न सकिदैन । यतिका महत्व बोकेको मातृभाषा शासन व्यवस्था संचालन गर्नेहरुको उपेक्षामा परेपछि २०१२ सालमा मगर समाज सुधार संघको विधान बनाएर मातृभाषा लेखनमा लाग्यौं । मातृभाषाको विकास विना मगर समुदायले मात्रै हैन सिङ्गो समाजले नै प्रगति गर्न नसक्ने देखेपछि विशेष चासो लिएर लेख्न शुरु गरें ।

मगर समुदायमा रहेको विकृति र विसंगती हटाउन मगरकै भाषा लेख्नु अनिवार्य थियो । मगर समाज सुधार संघको नियमावली अनुसार मगर भाषालाई प्रगतिमा ल्याउनु पनि मातृभाषाको लेखनमा हात हालेको थिएँ । मैले त्यति बेला मगर भाषौ शुरूवौ किताब र मगराँती भाषाङ् ल्हीङ ड टुक्कावौ किताब लेखेको थिएँ । त्यतिबेला लेख्न शुरु गर्नाले मगरहरु केही हदसम्म संगठित त भए तर भाषा जति विकास हुनुपर्ने हो त्यति विकास चाँहि हुन सकेको छैन ।
त्यतिबेला लेखन बाहेक अरु के गर्नुहुन्थ्यो ?
मगर समाज सुधार संघको कार्यालय सचिव भएर काम गर्थें । नियमित पढाइबाट समय बचाएर मातृभाषामा लेख्थें । मीनपचासमा मलाई दुई महिना फुर्सद हुन्थ्यो । त्यो बेलामा म फिल्डमा गएर समाजलाई नीति नियमहरू निर्देशित गर्दथें ।
मातृभाषामा लेख्दा प्रशासनको झमेलामा पनि पर्नु भयो ?
मातृभाषामा लेख्दा पुलिसले तानसेनमा समातेको थियो । पछि मेरो कविताहरु पढेपछि छोड्यो त्यसमा पञ्चायती व्यबस्थावारे पनि लेखेको थिएँ । त्यसवेला मेरो पछिपछि प्रसाशन धेरै लागि परेको थियो । पाल्पाको गोठाडीमा भाषा, साहित्यवारे कुरा गर्न जाँदा मगरहरुले नै पक्डेर मलाई माथाथाना प्रहरी चौकीमा लगेका थिए । आफ्नै जातिका मानिसको कुवुद्धि देखेर मेरो आत्मा धेरै दिनसम्म रोयो ।
आफ्नै नाममा प्रतिष्ठान स्थापना भएको छ भन्ने थाहा थियो ?
कहाँ हुनु ! २०६२ कार्तिकको तिहारमा बहिनीको हातबाट टिका लाउने इच्छा भएकोले गुल्मी जिल्लाको ठूलो लुम्पेक जाँदा रुकबहादुरको घरमा चिया खान बस्दा मेरो खोजी भईरहेको थाहा पाएँ । तिनै रुकबहादुरले काठमाडौंमा मेरो नाममा साहित्य प्रतिष्ठान खुलेको जानकारी गराएका थिए । उनैले बुटवलमा मेरो मूर्ति बनेको कुरा समेत सुनाए ।
प्रतिष्ठान खुलेको खबर सुन्दा कस्तो महशुस गर्नु भयो ?
शुरुमा त छक्क परें । भीमबहादुर बुढाथोकी मगरसंग मिलेर मगर समाज सुधार संघ खोलेको, मातृभाषामा दुईवटा किताब लेखि छोडेको थिएँ त्यसैको सम्मानमा प्रतिष्ठान खुल्यो होला भन्ने लाग्यो ।
चार दशक बेपत्ता हुनुको कारण ?
सुकुम्बासीहरूको सेवाको लागि दाङ जिल्लाको देउखुरी नाका क्षेत्रमा बस्ती बसाल्दा पुरानो घर जान फुर्सदै भएन । बहिनीको हातबाट टिका लाउन ठूलो लुम्पेक नगएको भए र रुकबहादुर रानाले सोधखोज नगरेको भए अहिले पनि सायद मलाई तँपाईहरुले चिन्नु हुने थिएन ।
तपाईको जीवनमा घटेको विर्सनै नसक्ने कुनै घट्ना ?
पहिले र अहिले चिनेजानेका व्यक्तिहरूसँग कुराहरू हुँदा अन्तर देख्छु । भेट हुने बित्तिकै मलाई शंका गर्ने व्यक्तिले खूब नियाली सोध्छन्, म दंग पर्छु, मेरो नामलाई किन खोजी गरेका होलान ? एक दिनको कुरा हो, गोलभाव किताब लिएर पूरानै घुम्ने ठाउँ गोठुवामा पुगेको थिएँ । त्यहाँ बास बस्ने घरको मानिसले त्यो किताब देखेर निदीखुदी गर्न थाल्यो । यो किताब कसले लेखेको भनेर सोध्यो । त्यहाँ भएको के रहेछ भने मलाई खोजीको सिलसिलामा लोकबहादुर थापा, गोरेबहादुर खपाङ्गीले स्कूलको देउरालीमा मेरो नामबाट प्रकाशित कविता आफ्ना भाषणमा सुनाउँदा रहेछन् । खपाङ्गी र थापा वाहेक त्यहाँ अरु पाँच, सातजना गएका रहेछन् सबैको नाम त सोधिन । म मरेको, जिउँदो थाहा नभएकाले त्यहाँ बुझ्न गएको होला । लोकबहादुर थापाजिले लेखेको किताबमा म मरिसकेको देखें, दुईवटा जुनी भयो । भाग्यवश बाँचेको छु । म ३८ वर्षसम्म हराउनाले पनि आश्चर्यजनक जीवन बन्यो ।
जे होस् यो जीवनमा मगर समाज, देश र विश्वको लागि एउटा उदाहरण देखाउन पाउँदा मेरो जीवनले मानव समाजलाई एउटा बाटो देखाएको कुरा भरमी जाति काट र जरुरत भरमी जाटियौ काटले विश्व निर्देशित गरेको छ । साथै माया छिनिङ, हान रक्सीयौ परिणाम, मानामाना मुठीमुठी र ईम धान्म मुनिस भन्ने मेरो कविताले मानव समाजको स्थितिलाई समातेको कुरा मेरो लेख र खोजाइबाट मेरो कल्पना साकार गरेको छ ।
तपाईको नाममा स्थापना गरेको प्रतिष्ठानले पुरस्कार वार्षिक रु. ५,०००।? थप्दै रु. २०,०००। सम्म दिइएको छ । पुरस्कार राशी कतिसम्म पुगोस भन्ने इच्छा छ ?
पुरस्कार भन्ने एउटा समाजमा भएको संस्कृति, सांस्कृतलाई अगाडि बढाउन साहित्य निर्माण गर्न प्रोत्साहन गराउने अंश हो । प्रतिष्ठानले पुरस्कारको राशी बढाउँदै लगेकोमा म खुशी छु । तर पुरस्कारलाई समय अनुसार बढाउँदै लैजान समाज र सरकारले पहल गर्नुपर्दछ । भाषा विकासको लागि एउटा समिति बनाउनु पर्छ । भाषा साहित्यले भविष्य दिग्दर्शन दिन्छ ।
तपाईबारे निर्मित वृत्तचित्र Documentary हेर्नु भयो ?
सांस्कृतिक संरचनामा चलचित्र महत्वपूर्ण कुरा हो । यसबाट समाजको क्रियाकलापहरू देखिन्छ । यो सम्झनाले समाजप्रतिको दायित्व साथै देशप्रति र मानव समाजको अवधारणालाई जीवित राख्न दिगो आस्था बन्न सक्छ ।
हङकङमा साहित्य कार्यक्रम सहित भव्य रूपमा तपाईलाई सम्मान कार्यक्रम गर्दैछ मगर संघ हङकङले थाहा पाउनु भयो ?
भरमी जाति काट र जरुरत काट बाट मानव समाजको परिकल्पनाबाट र गरिब वर्गको हित, सर्वहारा वर्गको कल्याण हुने ठाउँमा यस्तो हुनु मेरो गरिब वर्गको हितप्रतिको लक्ष्यलाई आधार पुग्न जान्छ । देशको हितलाई आफ्नो ठाउँमा राखी सर्वहारा वर्गको सत्कार ऊर्जा थप्न मद्दत पुग्न आएको छ । समुदायले जो जसरी म बिरामी हुँदा गरेको सहयोग अरुलाई आशिर्वादको अङ्ग बन्न जानेछ भन्ने धारणा राखेको छु ।
भावी दिनहरूमा के गर्ने योजना बनाउनु भएको छ ?
मगर संघ स्थापना भएको देशहरु मध्ये यु.के., अमेरीका र हङकङबाट गरेको सहयोगले त्यस ठाउँमा आशिर्वाद दिन जाने मन छ । राष्ट्र भाषा, मगर भाषा प्राप्त भएमा त्यसको आधार खडा गरी राष्ट्रलाई सर्वहारा वर्गको संस्कृतिलाई जागरण गर्दै जाने र राष्ट्र भाषालाई अगाडि बढाई राज्य भाषालाई समेत धनी बनाउन र नयाँ सांस्कृतिक आधार बनाउन आफ्नो शक्तिले भ्याएसम्मको काम गर्ने सोचाइमा छु ।
हाल कहाँ बसोबास गरिरहनु भएको छ ?
जुन ठाउँमा गरिबहरूको सेवा गरी बसेको छु । त्यो ठाउँ मेरो लागि जीवनको ठूलो संसार हो । ठाउँ ठाउँमा पढाउँदै रोल्पा ढाङढुङ कुरेलीको धनसिं बुढाको घरमा बस्दा उनी र मेरो सल्लाहले उनले देखाउनुभएको ठाउँ दाङ देउखुरी जिल्ला राजापुर गा.वि.स. वडा नं. ७ खङ्रा नाकामा स्थायी बसोबास हो ।

तपाईलाई नक्कली जीतबहादुर सिञ्जाली भनेको सुन्नुभयो ?
शंका आले उत्तर शंका जात्केन,
शंका समाधान जात्केन मेनो गीनाङलेम…..

शंका गर्नु उत्तम आफ्नै मनले गौर गरेर हेर्नपर्ने विषय हो । मगराँती भाषाङ ल्हिङ् ड टुक्कावौ कीताब मा लेखिएको मेरो किताब, मेरो साधारण जीवनको उपज होला । मेरो विकल्पमा अरु मानिस म जस्तो देख्न पाएमा अन्तरआत्मा प्राप्त गर्थें । म प्रति शंका गर्नु गौरव लागेको छ । तर मैले जति बेलादेखि मगर भाषामा लेख्ने शुरु गरें त्यतिबेला मगर समुदाय र भाषाको सेवा वाहेक मेरो केही स्वार्थ थिएन । अहिले पनि छैन । आदिकवि बनौंला वा समाजले सम्मान गर्ला भनेर मैले लेख्न शुरु गरेको कदापि होइन ।

No comments:

Post a Comment