Sunday, November 18, 2012

मगर जातिको आफ्नो भनिएको 'अक्खा लिपि'बारे एउटा सानो टिपोट


______________________________
______________

श्री एम. एस. थापा मगरद्वारा लेखिएको 'प्राचिन मगर र अक्खा लिपि' (प्रकाशित मिति २०४९ फागुन २० (मार्च १९९३) का बारेमा केही लेख्नु पर्ने आवस्यकता देखियो र सोहि अनुरुप आज यहाँ केही लेखिएको छ | कुरा नौलो छैन, पुरानै हो तर
नया आग्रह के हो भने यस पुस्तकका बारेमा मिल्छ भने थप बहस पनि चलाइयोस | यो पुस्तक
प्रकाशित भएपछि 'गोरखापत्र दैनिक ' तथा 'द राइजिंग नेपाल' जस्ता मुलुकका विभिन्न प्रमुख पत्रपत्रिकाहरुमा उतिबेलै केही चर्चा परिचर्चा भैसकेको हो | आज यस टिपोटमा सो पुस्तकबारे छोटो टिप्पणी गरिने छ |

केही लेखिहाल्नु भन्दा पहिला, यो पुस्तक कस्तो हो वा छ भनेर भन्नु पर्दा यी तलका कुराहरु उल्लेख गरिनु उपयुक्त हो भन्ने पनि लाग्यो:

१) अत्यन्त गहिरो अनुसन्धान गरिकन प्रकाशित गरिएको पुस्तक हो |

२) मगर जातिको इतिहासको बारेमा यस पुस्तकमा स्वतन्त्र रुपले नौलो विश्लेषण गरिएको छ |

३) सन्दर्भग्रथका रुपमा प्रकाशित गरिएकोले यो पुस्तक साधारण पाठक भन्दा विद्द्वान अनुसन्धाताहरुको निम्ति बढी उपयोगी छ | साधारण पाठकका निम्ति यो पुस्तक लेखिएको हो भन्ने लाग्दैन |

यस पंक्तिकारको पनि स्वयम लेखक विद्द्वान एम. एस. थापा मगरसंग यस पुस्तकका बारेमा केही कुरा हुने गर्थ्यो | लेखक महानुभाव मगर, संस्कृत, नेपाली, अंग्रेजी, हिन्दी जस्ता भाषाका ज्ञाता, विद्वान् हुनु भएकाले यस पुस्तकमा प्राचिन संस्कृत वांगमयको प्रचुर मात्रामा समालोचना गरिएको छ भने बौद्ध साहित्यको पनि उत्तिकै चर्चा गरिएको छ |

लेखकले प्रचलित इतिहास र आम जनविस्वासको ठीक विपरित धारमा, श्रुति स्मृति, बौद्ध साहित्य आदिका पंक्तिपंक्तिलाइ अत्यन्त मिहिन तरिकाले केलाई त्यसको प्रतिवाद गर्दै कलम चलाएका हुनाले पनि मूलप्रवाहका चिन्तक, रचनाकार तथा समालोचकहरुको निम्ति यो पुस्तक रुचिको प्रकाशन हुन् सक्यो भन्ने लाग्दैन | यथास्तितिवादको विपक्षमा खडा छ यो पुस्तक | यसले यथास्थितिवादीहरुको टाउको दुखाएको हुनु पर्छ, अवस्य पनि | यस पुस्तकको आफ्नै गरिमा र महत्व छ |

यस पुस्तकमा 'अक्खा लिपिका'बारेमा विषद चर्चा गरिएको छ | सो अक्खा लिपिको 'फन्ट' तयार गर्दा लेखकले अत्यन्तै ठुलो मिहनेत गर्नु भएको बुझिन्छ | यस पुस्तकमा भाषा विज्ञानको गहिरो अध्ययन गरिकन सो अक्खा लिपिबारे गम्भीर बहस गरिएको छ | अक्खा लिपि मगर जातिको आफ्नो लिपि हो भन्ने दाबी गरिएको छ यो पुस्तकमा | आजसम्म यो आखा लिपि मगर जतिको आफ्नो लिपि होइन भन्ने कोहि पनि गैह्र-मगरहरु निस्केका छैनन् |

यसमा दुइ कुरा हुन् सक्छन् :

१) विद्द्वानहरु यो 'अक्खा लिपि ' भन्ने कुनै लिपिको अस्तित्व स्वीकार गर्दैनन् | त्यसैले यसबारेमा बहस गर्नु भनेको फाल्तु कुरामा समय खेर फाल्नु हो |;

२) अथवा, अक्खा लिपि भनेर दाबी गरिएको कुरामा दम छ | यसलाई स्वीकार गरिएमा प्रचलित मान्यतामा ठेस लाग्न जान्छ | यथास्थितिको पर्खाल गर्लम्म ढल्न जान्छ , सामाजिक सोच र सन्तुलनमा खलल पुग्न सक्छ |

" देश विदेशका मगरहरु, मगरहरुको लिपि अक्खारिका नै हो भन्नेमा विस्वस्त भएका छन् र आज मगरहरुले यसै अक्खारिका लिपिमा लेख्न र पठन-पाठन गर्न शुरु गरेका छन् |हाल यस अक्खारिका लिपिको कम्प्युटर अक्षर (फन्ट ) पनि बनिसकेको छ | " भनेर लेखकले दोश्रो संस्करण (२०५९) को भूमिकामा लेख्नु भएको छ |

अब गर्नु पर्ने कुरा के हुन् सक्छ भने मगर भाषाको व्यापक प्रचार, प्रसार हुनु पर्यो | राम्रा राम्रा साहित्य सिर्जना हुनु पर्यो खाम , काइके वा मगर भाषा मै | त्यो फन्ट सबैतिर वितरण हुनु र त्यसको राम्रो उपयोग हुनु पर्यो | त्यो अक्खारिका लिपिको फन्टको अरु वैज्ञानिकीकरण गरेर यसलाई अरु सुन्दर र सरल बनाएर लैजानु ठीक होला । अब यसै फेसबुकभित्र पनि त्यस्ता फन्टहरुलाई राख्न सकियो भने त्यसले अरु थपव्यापकता पाउन सक्छ |

र, अन्त्यमा गरी हाल्नु पर्ने कुरा के हो भने त्यो 'प्राचिन मगर र अक्खा लिपि' भन्ने पुस्तकलाइ अंग्रेजीमा उल्था गरिकन त्यसलाई इन्टरनेटमा अपलोड गर्नु पर्यो | त्यो किताब विदेशी विद्द्वानहरुको आखाँमा पनि पुग्नु पर्यो | किनभने प्राज्ञिक समाजले यो लिपिलाई अन्तत: स्वीकार गर्यो भने सम्पूर्ण मगर समाजलाई फाइदा हुनेछ ।

'प्राचिन मगर र अक्खा लिपि' लेख्नु भएका कारण नै एम एस थापामगरलाइ केही मगर तथा गैह्र-मगरहरु 'मगरका रत्न’ भन्ने गर्दछन् |

@ टिपोट : बि. के. राना

No comments:

Post a Comment