Tuesday, December 4, 2012

"जनताका अनुकरणीय योद्धा एक देव आले मगर "


___________________________________

हाल नेपालका ठुला राजनीतिक दलहरु मद्धे एक एमालेका संस्थापक नेता पुष्पलालको एउटा लेखमा एकदेव आले मगरका बारेमा माथिको कुरा लेखिएको छ । एकदेव आले मगर नेपालका एक अत्यन्त आदरणीय सपूत हुन् । उनको त्याग र समर्पण अत्यन्त उदाहरणीय छ ।

उनको जन्म एक साधारण कृषक परिवारमा बिक्रम सम्बत 1980 सालमा तनहु जिल्लाको सदरमुकाम दमौली बजारको मादी नदी पारीपट्टीको मान्हुंग डाडा, अर्चलथोक भएको थियो । उनी 14 बर्षको उमेरमा नै भारतीय सेनामा भर्ति भएका थिए । तर, अंग्रेज विरुद्ध नेताजी सुभाष चन्द्र बोसले भारत स्वतन्त्रताका निम्ति गठन गरेका आजाद हिन्द फौजको कार्यक्रमबाट प्रभावित भई उनी सन् 1941 मा आजाद हिन्द फौजमा सामेल भए । सन् 1947 मा भारत स्वतन्त्र भयो । उनी नेपाल फर्केर आए ।

त्यसबेला नेपालमा पनि राणा बिरोधी आन्दोलन तिब्र गतिमा अघि बढिरहेको थियो । उनी राणाहरु बिरुद्ध गठन गरिएको रक्षा दलमा सामेल भए । बिक्रम सम्बत 2007 सालमा वीरगंज र बन्दीपुर सदरमुकाम कब्जा गर्दा ती दुबै अभियानहरुमा यीनै योद्धाले नै नेत्तृत्व गरेका थिए । उनका सम्बन्धमा चर्चा गर्दा उनी वामपन्थी रूझान भएका नेताका रुपमा अत्यन्त दर्बिलो ढंगमा देखा पर्दछन । नेपालको वामपन्थी आन्दोलनका संस्थापक पुष्पलाल समेतले उनको अत्यन्त उच्च मुल्यांकन गरेका छन्।

उनले नेपालका किसानका हकअधिकारको सम्बन्धमा अत्यन्त सशक्त आन्दोलनको नेतृत्व गरेका थिए । गण्डकी क्षेत्रका किसानहरुको हकहितका सवालमा अत्यन्त प्रभावशाली आन्दोलन चलाइरहेको अवस्थामा 2017 साल पुष 1 गते पन्च्यात व्यवस्था ल्याईएपछि उनी भूमिगत भए तर भूमिगत रहेकै अवस्थामा पक्राउ खाए । उनलाई पाल्पा र स्यांग्जाका जेलहरु सार्दै सार्दै राखिएको थियो । बिक्रम सम्बत 2018 सालको माघ महिनामा अन्य सयौं बन्दीहरु सहित जेल फोडेर रातारात कपिलवस्तुको गोरुसिंगेको जंगल हुदै उनी भारत पलायन भए । भारत पुगेपछि उनी नेपाल कम्युनिष्ट पार्टीको काममा लागे र 2019 साल बैशाख 4 गते देखि 10 गतेसम्म बनारसमा भएको तेश्रो महाधिवेशनले उनलाई पनि पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित गर्यो ।

त्यसपछि पश्चिम नेपालको इन्चार्ज भै भारतमा नै भूमिगत रुपमा काम गर्दागर्दै 2025 साल माघ 12 गते पेटको क्यान्सरको दरभंगा लहरियाशरण मेडिकल कलेजमा उपचार हुदा हुदै उनको निधन भयो । उनले आफ्नो उपचारमा संलग्न डा. भी. एन. सिंहलाइ भनेका थिए " डा. साहेब मलाइ अस्पतालमा मर्नु नपरोस , म आफ्नै देशको माटोमा लड्दै मर्न चाहान्छु।"

यी राष्ट्रवादी मगर सपूतका बारेमा जति लेखे पनि थोरै नै हुन्छ ।

( श्रोत: संक्षिप्त मगर इतिहास - 2059 - सरांस मात्र सारिएको )

No comments:

Post a Comment