लन्डन पुग्ने मगर सिंहदरबार देख्दैन
गोरे बहादुर खपांगी मगर
मगरलाई जाग, उठ र अघि बढ भनेर म गाउँगाउँ गएँ । सुतेको मगर उठ्यो, अनि
फेरि सुत्यो । मैले फेरि उठाएर अलि परको मान्छे देखाएँ । ल भन त्यो को हो ?
मगरले भन्छ, त्यो त बाहुन हो । अनि मैले भनेँ, त्यो बाहुन हिँडेर कहाँ
पुगिसक्यो, तँ भने सुतिरहेकै छस्, अनि कहाँबाट हुन्छ तेरो उन्नति ।
मगरमा राजनीतिक परिपक्वता छैन । एउटा गुल्मीको मगर, अर्को सिन्धुलीको मगर
उठेर सीधै लन्डन जाने सपना देख्छ । लन्डनमा घर बनाएर बस्छ । तर, आफ्नै
देशको सिंहदरबार पुग्ने सपना कहिल्यै देख्दैन । समस्या यहीँ छ । जनजातिमा
साँच्चै संज्ञानताको अभाव छ । होइन भने एकीकृत नेकपा माओवादीमा अन्याय भयो
भनेर रामबहादुर थापा बादलको पहलमा पार्टी फुट्यो । पुरानो पार्टीमा बादल
भन्दा तल रहेका सिपी गजुरेललाई नयाँ पार्टीमा बादल भन्दा माथि राखियो । तर,
बादलको कुनै प्रतिक्रिया छैन । किनकि, राजनीतिक परिपक्वता छैन, लाहुर जाने
सपना छ, सिंहदरबार ताक्ने योजना छैन ।
कम्युनिस्टमा बाहुनवाद
म भूमिगत नेकपा (माले) को मान्छे । मदन भण्डारी, जीवराज आश्रति, सिपी
मैनाली, माधव नेपाल सबैसँग राजनीति गरेको मान्छे । तर, तिमीहरू जातिवादी
भयौ भनेर मैले पार्टी छाडेँ । जातिवादी भनेको बाहुनवादी हो । त्यो पुष्टि
अरू धेरै कुराले भएको छ । तर, सबै भन्दा नमीठो उदाहरण माधव नेपालकै छ ।
बहुदल आएपछि माधव नेपालकी भान्जीलाई राधाकृष्ण मैनालीको ड्राइभरले उडायो ।
त्यो ड्राइभर गुरुङ थरको थियो । माधव नेपालले सामदाम, दण्डभेद गरेर
भान्जीलाई गुरुङ केटोबाट खोसे । बाहुनवादी अहंका लागि त्यतिवेला राज्यको
शक्ति पनि प्रयोग भयो । कम्युनिस्ट पार्टीको नेताले गर्ने यही हो भनेर
अरूले आश्चर्य मान्छन् । तर, म यस्ता नेताको काम नै यही हो भन्छु ।
ठकुरी (राजा) प्रशंसाको भोको
म ज्ञानेन्द्रको मान्छे होइन । तर, ०५९ सालमा शेरबहादुर देउवा आफैले घोषणा
गरेको चुनाव अहिले गर्न सक्दिनँ भनेपछि तत्कालीन राजा ज्ञानेन्द्रले
देउवालाई बर्खास्त गरे । चुनाव गराउन नसक्नेलाई बर्खास्त गर्नु ठीक हो कि
होइन भन्ने विषय अर्को हो । तर, राजाले अब चुनाव गराउन सक्ने सक्षम
व्यक्तिहरू आऊ, निवेदन देऊ भनेपछि हाम्रो राष्ट्रिय जनमुक्ति पार्टीको बैठक
बस्यो । म महासचिव थिएँ, मन्त्री को हुने भनेर ठूलो विवाद भयो । विवादबीच
हाम्रो पार्टीबाट मात्रै १२ जनाको नाम सिफारिस भयो । पछि राजाले मेरो नाम
छाने ।
कम्तीमा १२ जनामध्ये त म फरक रहेछु नि । मन्त्री भएपछि फरक काम
गर्नुपर्यो भनेर मैले संस्कृत विषय विद्यालयबाट हटाउने सोच बनाएँ ।
संस्कृत भाषा इतिहास हो, शास्त्र हो र अध्ययन-अनुसन्धानको विषय हो । तर,
सानासाना बालबालिकालाई पढाउनै पर्ने विषय होइन भन्ने मेरो ठहर हो । जब
बालबालिकालाई यो भकुन्डो हो भनेर सोझै बुझाउन सकिन्छ भने इदं कन्दुकम् भनेर
बोझ किन पार्ने ? एउटा विद्यालयमा एउटा मात्र संस्कृत शिक्षक भए पनि ३०
हजार विद्यालयमा ३० हजार शिक्षक हुने भए । त्यो ३० हजार पदमा कुनै राई,
कुनै लिम्बू, कुनै मगर, कुनै गुरुङ त हुने होइन, एक्लौटी रूपमै बाहुनले
खाने हो । त्यसैले पनि विरोध हो, मेरो । लोकेन्द्रबहादुर चन्दको पाला देवी
ओझा शिक्षामन्त्री थिए, म महिला बालबालिका तथा समाज कल्याण मन्त्री । देवी
ओझा त मेरा माले कालका साथी, त्यसैले भनेँ, ए देवी एउटा परिवर्तनको काम
गर्नुपर्यो । संस्कृत शिक्षा हटाउनुपर्यो । देवी ओझा कन्भिन्स भए,
प्रस्ताव तयार पारे र मन्त्रिपरिषद्बाट पारित भएर अनिवार्य संस्कृत शिक्षा
हट्यो ।
मैले दसैंको टीका नलगाऊ भनेर जनजाति समुदायमा अभियान नै
चलाएको हुँ । राजनीतिक भाषामा बहिस्कार भन्छन्, सामाजिक भाषामा परित्याग
भनौँ । दसैँको टीका परित्याग गरौँ भनेर अभियान चलाउने गोरे बहादुर
खपाङ्गीले मन्त्री भएपछि राजाको हातबाट टीका लगायो भनेर ठूलो विरोध भयो ।
वास्तवमा मैले टीका लगाएकै हो, राजा खुसी हुन्छन् कि भन्ने चाहनाले मैले
टोपी माथि सारेर निधार थापेकै हुँ । मलाई मन्त्री भएपछि संस्कृत शिक्षा
हटाउनेदेखि केही काम गरेर देखाउनु थियो । त्यतिवेला मन्त्रिपरिषद्को काम
गर्न राजालाई खुसी पार्नै पर्ने बाध्यता थियो । राजा भनेको ठकुरी, ठकुरी त
प्रशंसाको भोको । हाम्रो गाउँमा गरिब ठकुरीले हलै जोतेर खान्छ । दिनभरि
जोतेर आएको ठकुरीलाई बाबुसाब, जोत्न अब कति बाँकी छ भनेर सोध्यो भने फुरुंग
भएर भन्छ, अब तिन्टा गरा छन्, हजुर । दिनभरि जोतेर खानेले पनि बाबुसाहेब
भनिमाग्छ । अब राजाले चाकरी किन नखोजोस् । मैले जनजातिकै काम गराउन राजाको
हातको टीका थापेँ ।
गोरेबहादुरको प्रेत
जुन वेला मैले जातीय
मुद्दा उठाएँ, त्यो वेला साम्प्रदायिकता थियो । अहिले त आवश्यकता भएछ नि ।
अहिले अशोक राईले पार्टी खोल्छु भनेका छन् । यिनीहरूले एमालेमा ठेस खाए,
त्यसैले उछिट्टएिका छन् । बाटोमा हिँड्दा ठेस लाग्दा मान्छे लडे त
लडिहाल्यो । लडेन भने पनि हुत्तिएर अगाडि बढ्छ । पर पुगेर पर्खालको सहारामा
उभिन खोज्छ । हो, अशोक राईहरू पनि आफ्नो बाटोमा उछिट्टएिका छन्, अब
हुत्तिएर पर्खालको सहारा लिने कोसिसमा छन् । तर, यिनीहरूले गरिखान्नन् ।
यसका दुईवटा कारण छन् :
एक: जब एमालेबाट जनजाति नेताहरूले विद्रोहको
भाका बोले, बुद्धिजीवी र पत्रकारले खबरदारी गरे- गोरेबहादुरको चाल होला है ।
ल हेर्नुस्, गोरे बहादुर प्रेत त रछ नि । प्रेत नै सही, तर्साउँदो त रछ नि
। गोरेबहादुरले यिनीहरूको मनमा त्यति ठूलो आतंक फैलाएको रहेछ । त्यो
प्रेतले अशोक राईलाई पनि डर लागेको छ । हाउगुजी भएको छ, कतै हामी बर्बाद
हुने हौँ कि भनेर यिनीहरूले खुट्टा कमाइरहेका छन् । खुट्टा कमाएर राजनीति
हुन्छ ? हुँदैन ।
दुई: यिनीहरू राजनीतिमा होइन, डलरको खेतीमा छन् ।
जनजातिका ठूला-ठालु भन्ने सबैले डलर खाएका छन् । तिनलाई त बिख लाग्ने नै
भयो । केहीले खाएका छैनन् भने पनि यो देशमा तिनलाई पनि बिख लाग्छ । पोहोर
साल जनजाति महासंघले आन्दोलन गर्यो । १४ जेठमा संविधान 'ले' भनेर
चक्काजामको घोषणा गर्यो । होइन यो (राजकुमार) लेखीले के गर्दै छ भनेर म
सोच्दै थिएँ, डिएफआइडीले मिडियामा भनिदियो, खबरदार जनजाति महासंघ, संविधान
चाहियो भनेर आन्दोलन गर्ने होइन, गर्छौ भने हामीले दिने १३ करोड चट् ।
यिनीहरू सब थरथर कामे । तुरुन्तै बैठक बसे । तिम्रो डलर चाहिँदैन, हामी
संविधान ल्याएर छाड्छौँ भन्न सकेनन् । आन्दोलन स्थगित गरे, डलरका अगाडि
घुँडा टेके । अब संविधान होइन, डलरका अगाडि घुँडा टेक्नेले राजनीति कसरी
गरिखान्छ ।
म सबै जनजातिको बाजे
मगर समाजका लागि म ४० वर्ष
हिँडेँ, मगरको उत्थान गर्ने नारा लिएर हिँडेँ । ४० वर्ष निरन्तर आफ्नो
समाजका लागि हिँडेको अर्को को छ ? होला कोही घामले पाकेर ८० वर्षको भयो
होला । तर, उसले आफ्नो समाजका लागि के गर्यो ? म त ४० वर्ष लागेँ त्यसैले
८० वर्षको बूढाको पनि म बाजे हुँ । म त आफ्नो घर जलाएर, जिउमा खरानी दलेर
हिँडेको मान्छे हुँ । अहिले सात करोडको घरमा बस्ने नेतालाई म सोध्न चाहन्छु
- तिमी पनि आफ्नो घर जलाऊ र समाजका लागि हिँड ।
म ०५६ सालमा पाल्पाबाट
संसदीय चुनावमा उठेँ । मेरो निर्वाचन क्षेत्रबाट मगर मतदाता मात्रै ५९
हजार थिए । मगरले मात्रै दिए पनि अत्यधिक बहुमतले जित्ने निश्चित थियो ।
तर, म तेस्रो नम्बरमा पुगेँ । ल हेर्नुस् है ! मैले भनेको थिएँ, तपाईंको
निर्वाचन क्षेत्रबाट एउटा मगर सिंहदरबार जानुपर्छ । तर, मगरहरूले
सिंहदरबारको भेउ नै पाउँदैनन् ।
जापानी साथीले सुनाएको कथा
जनजातिबारे प्रस्ट पार्न नवलपरासीको एउटा मगर गाउँको कथा भन्छु । सुनाउने
मान्छेचाहिँ नेपाली होइनन्, जापानी हुन् । माकितो मिनाकी भन्ने जापानको
एकजना मान्छे, १५ वर्षसम्म नवलपरासीको माथि डाँडामा बस्यो । अर्खाला
गाविसका एक परिवारको सदस्य बन्यो । बूढाबूढीलाई बाबुआमा मान्यो, उनीहरूका
छोराछोरीलाई दाजुभाइ मान्यो । पछि ऊ जापान गएको वेलामा नेपालबाट मगर भाइले
फोन गर्यो, लौ दाइ बर्बाद भो, यहाँ बा बिरामी हुनुभो, उपचार गर्ने खर्च
छैन । जापानी छोरो राति नै जहाज चढ्यो, बिहान काठमाडौं आयो, बेलुका
नवलपरासीको अर्खला पुगेर बाबुलाई भेट्यो । बाबुको अवस्था कमजोर थियो, दुई
भाइ मिलेर कावासोती झारे । कावासोतीमा राम्रो उपचार हुने कुरा भएन, नाइटबस
चढाएर काठमाडौं ल्याए । वीर अस्पतालमा भर्ना गरे । बिरामीको अवस्था ठीकै
थियो, त्यसैले जापानी छोराले भाइलाई भन्यो, बा अहिले ठीकै छन्, हेरविचार
गर्दै गर्नु, एक दुईजना साथीलाई भेट्नु छ, म डेढ घन्टामा आउँछु । तिमी
हेर्दै गर । केही पर्यो भने खर्च गर्नु भनेर ६ हजार रूपैयाँ पनि छोडेर
जापानी छोरा बाहिर निस्कियो ।
मगर छोरो बाउलाई कुर्दै थियो, एकछिनपछि
उसलाई दिसा लाग्यो । बिचरा मुग्लिनको बासी भात खाएको हुँदो हो, पेट नदुख्ने
कुरै भएन । ट्वाइलेट जानुपर्यो, पल्लो बेडको कुरुवालाई सोधेछ । अब उसले
पनि भनिदिएछ, म पनि आज बिहान मात्र आएको, ट्वाइलेट कता छ, मलाई थाहा छैन ।
मगर छोराले अर्को मान्छेसँग सोध्यो, अर्कोलाई सोध्यो, ट्वाइलेट खोज्यो ।
तर, कतै भेटेन । ट्वाइलेट खोज्दा-खोज्दा उसलाई एक घन्टा लाग्यो । तर, भेटेन
। निराश भएर फर्किएर आउँछ त डाक्टरहरू गाली गर्छन्, ल कहाँ गएको थियो,
यहाँ कत्रो घटना भइसक्यो । छोराले छाम्छ त बाउको ज्यान चिसो भइसकेको छ ।
ज्यान गइसकेको छ । बाउको चिसो हात समातेर छोरो बसिरहेको थियो । एकछिनपछि
जापानी छोरो आयो । के भयो भनेर सोध्दा मगर छोराले भन्यो, म ट्वाइलेट खोज्न
गएको थिएँ, यता बाउ बितेछन् । अनि जापानीले सोध्यो, ट्वाइलेट त गइस् ?
मगरले भन्यो, कहाँ भेटेर जानू, पेट दुखिरहेको छ । अब बाउको लास उता लडेको
छ, तर ठूलो छोराको पहिलो काम सानो छोरालाई ट्वाइलेट लग्नुपर्ने भयो । लग्यो
। अब मैले भन्न खोजेको के भने, फोहोर नै सही, वीर अस्पतालमा कम्तीमा २० र
२५ वटा ट्वाइलेट छन् । तर, एक घन्टासम्म त्यहीँ भित्रको ट्वाइलेट नभेट्ने
मगरले सिंहदरबारको कुर्सी कसरी भेट्छ ? त्यसैले अहिले नै राजनीतिमा मगर र
अरू जनजातिको पनि उन्नति हुनेवाला छैन
No comments:
Post a Comment