Saturday, November 24, 2012

बल्ढेङगढी राज्यका संस्थापक बलिहाङ रानामगर, दर्शैंपछि तिहारमा खेलिने द्यौंसी भैलो र मृत्यूलोकका यमराजको नियम

[यो तल टासिएको नोट त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका इतिहास विभागका प्राध्यापक डा. राजा राम सुबेदीको 'मगर जातिको नालिबेली ' भाने शीर्षकको लेखबाट लिएको हो | सो लेखमा समग्र मगर जातिको बारेमा रोचक सूचनाहरु समावेश गरिएको छ | तर, यो नोटमा चाहिँ यहाँ सुहाउँदो किसिमले काटछाट गरेर टासिएको छ | विद्वान प्राध्यापकको सो लेखमा उल्लख गर्नु भएको कतिपय कुराहरुसंग सहमत हुन नसकिने अवस्था पनि छ | त्यो छुट्टै वहसको विषय हो | पुरै लेख हेर्नका निम्ति यहाँ https://docs.google.com/viewer?a=v&pid=sites&srcid=ZGVmYXVsdGRvbWFpbnxyYW5hMTYxNnxneDozMGYzZDJiMWVjNWZjNmNi क्लिक गर्नु होस् |]

प्रा. राजा राम सुबेदी


* मिहीरकुलका सोझै सन्ततिहरु मगर कहिन थालेपछि पनि उनीहरुका विभिन्न थर र उपथर रहन गए । उदाहरणको लागि आलेमगरका २४६ थर घर्ती मगरका ४९ थर, थापामगरका ५५३ थर पुनमगरका ५३ थर, बुढाथोकी मगरका २६ थर, रानामगरका १८६ थर गरी हालसम्म प्राप्त जम्मा १११३ थरका मगरहरु नेपालमा बसोवास गर्दछन् ।



* नेपालमा बसोवास गर्ने मगरहरु बाह्र मगर, अठार मगर र डोल्पाली मगर गरी तीन वर्ण (वर्ग) मा विभाजित गरिएको पाइन्छ । कतै कतै बाह्र मगरलाई गोर्खा मगर भन्ने गरेको पनि पाइन्छ । गोर्खामगर भन्नुको कारण गोरखाराज्य स्थापना भएर नेपालको एकीकरणपछि पनि मगरहरुलाई देवी देवताका गाथगादीका पूजारी, काजी भारदार तथा विर्तावाल मानेर थरधरमा मान्यता गरेपछिको पहिलान जस्तो रहेको कुरा सामान्य अर्थमा बुझिएको छ । त्यसको विशिष्ठ कारण गोरखा राज्य जगेर्ना गरेबाटै नेपालको एकीकरण र त्यसपछि हालसम्म पनि ज्यू ज्यानको वास्ता नराखी नेपाल राष्ट्रको अखण्ड अस्तित्वको लागि मरिमेट्ने गौरवशाली इतिहास बोकेको मगरजातिलाई गोर्खामगर भनेको हुनुपर्छ भन्ने मर्मवोध हुन्छ ।


* बाह्रमगराँतको स्वर्णकाल उत्तरमध्यकालको बल्ढेङगढी सभ्यतालाई लिन सकिन्छ । बाह्रमगराँतलाई एकीकरण गरी बलिहाङ नाम गरेका मगर राजाले छरिएको मगर शक्तिलाई एकीकृत गर्ने प्रयास गरे । फलस्वरुप मगरहरुको लडाकू सेनाको संख्या चारहजार (बुलीह्वाङ) थियो । इस्विको चौधौं शताब्दीदेखि स्थापित बुलिह्वाङ राज्य कर्णाली प्रदेशको खसमल्ल शक्ति कमजोर भई विभाजित हुने अवस्थामा आइसकेको वेलामा स्थापित भएको कुरा ऐतिहासिक क्रमबाट मिल्ने बुझिन्छ । त्यहाँको पहिलो राजा बलिहाङ भनेको पाइन्छ भने उनी पछिको त्यहाँ शासक भए सो कुरा स्पष्ट र क्रमबद्ध जानकारी भएको छैन ।


* पाल्पामा सेनवंशीय राजाहरुको राज्यस्थापना हुनु पूर्वकालसम्म बल्ढेङगढी राज्य शक्तिशाली रहेको थियो । वि.सं. १४९३ मा गुल्मी, १५५० मा पाल्पा, १४९० मा अर्घा, १४९२ मा खाँची, १४६५ मा धुर्कोट, १५५० मा मुसीकोट र इश्मा राज्यहरुको स्थापना भएपछि बलिहाङ राज्य स्वभाविक रुपमा कमजोर पर्दै गएको थियो । ती सातवटै राज्यहरु मिलेर बलिहाङ राज्यमाथि एकैचोटी हमलागरी ध्वस्त पारे । त्इस राज्यलाई टुक्राटुक्रा पारी सातै राज्यले आफुहरुलाई पायक पर्ने क्षेत्र दखल गरे । त्यसरी दख्खल गर्दा पहाडी भाग अरु राज्यलाई बढी तराइको भाग पाल्पालाई बढी गरिएको थियो । वि.सं. १६०० को आसपासमा गरिएको उक्त आक्रमणमा जग्गा बाँडफाँड गर्दा खिदिम क्षेत्रमा खिचलो परेकाले वि.सं. १६६९ मा खाँचीका राजाले जुम्ला गोतामबाट आएका श्रीधर गौतमलाई रामसिंह वर्मा (शाह) ले कुशपानी समातेर विर्तादान गरेका थिए ।


* लुम्बिनी अञ्चल पाल्पा जिल्ला, बल्ढेङगढी गा.वि.स. वडा नं. ५ मा बल्ढेङगढी पर्दछ । त्यहीं ऐतिहासिक सामरिक किल्लाको उपस्थितिको कारण नै त्यस गाउँका नामकरण गरिएको हो । महाभारत श्रृङखलाको दक्षिणी भागमा पर्ने उक्त गढी पहिले पहाड मधेश गर्ने बाटोमा पर्ने हुँदा चौकी पनि बसेको थियो । मध्यकालमा यस गढीको ऐतिहासिक र सामरिक महत्व रहेको थियो बल्ढेङगढीमा पहिले मगर उमराउ बस्दथे र यसको निर्माण बलिहाङ राजाले गरेका थिए । ती बलिहाङ राजा मृत्युको मुखमा पुगेका बेलामा त्यस राज्यका सारा जनताले नाचगान, द्यौंसी र भैलो खेल खेली यमराजसँग आफ्ना राजाको आयू बढाइदिन प्रर्थाना गरे । फलस्वरुप राजा बलिहाङ आकाल मृत्युबाट बचेका थिए । पछि त्यो साँस्कृतिक परम्पराको रुपमा विकसित भएर दर्शैंपछि तिहारमा द्यौंसी र भैलो खेल्ने मगराँतको परम्परा विकसित भएको लोक इतिहास पाइएको छ ।


* बल्ढेङगढी राज्यका संस्थापक बलिहाङ रानामगर थिए भनी माथि चर्चा गरियो र यहाँका अन्तिम मगर राजा रनवीर रानामगर । सात चौवीसी राज्यहरुले पहिले नुवाकोट डाँडाको नेपानेमाथि आक्रमण गरे । त्यतिवेला मगर राजा त्यही ठाउँमा बसी तमाखू खाइरहेका बेलामा सातराज्यका सेनाले छोडेको धनुकाँध लागी हुक्का भाँचियो । त्यति नै बेला राजाले “अब बल्ढेङगढी राज्य नटिक्ने” भविष्यवाणी गरे भन्ने कुरा त्यताको लोक इतिहासबाट जानकारी भएको छ । त्यसपछि बल्ढेङगढी चर्चा वि.सं. १८७२ को कुरालाई श्री ५ सुरेन्द्रबाट अनुमोदन गरी श्रीधरका एघारौैं पुस्ताका विष्ण्ुापाध्या गौतमलाई विर्ता थामेको, १८९८ मा पुनर्नवीकरण गरेबाट त्यसको ऐतिहासिक महत्व रहेको र मगरराज्यको अस्तित्वलाई पुष्टि गर्ने आधार पाइएको छ ।

No comments:

Post a Comment