Saturday, October 27, 2012

राष्ट्रिय चाड भनेर मानिएको दशैका बारे

कमला थापा
दशै हिन्दु धर्मालम्बीहरुको पर्व हो । यो पर्व बिशेष गरी नेपाल, भारत, श्रीलङ्का र बङ्गलादेशमा पनि मनाईन्छ । अरु देशहरुमा बसोबास गर्ने हिन्दुधर्मालम्बीहरु यस पर्बलाई दशहराको नाममा धुमधामका साथ मनाउने गर्दछन् । त्यी देशहरुमा बसोबास गर्ने हिन्दुधर्मालम्बीहरुले मनाउने दशैं वा दशहरा र नेपालका हिन्दुधर्मालम्बीहरुले मनाउने दशैं नितान्त फरक किसिमको पाईन्छ । नेपालको सन्दर्भमा भन्नु पर्दा नेपाल हिन्दु राज्य हुदा यस पर्बलाई नेपालीहरुको महानचाड भनी अरु धर्मालम्बीहरुलाई पनि जबरजस्ती मनाउन दबाब दिदै नमान्नेहरुलाई मुत्यु दण्डसम्मको सजाय दिइएको ईतिहासमा लेखिएको पाईन्छ ।

दशै पर्व इतिहासको कुनै एउटा कालखण्डदेखि हालसम्म के कति कारणले गर्दा मनाउदै आइएको हो भन्ने बिषयमा पनि छलफल हुनु आवस्यक छ । दशैंबारे कुरा गर्दा देवी र दानवको विचको लडाइको काल्पनिक कथादेखि लिएर गोरखा जिल्लाको माझकोटका खड्का मगर राजाको हत्या र  गोरखा जिल्लाकै दरौधी खोला र निमेल खोलाको सांधमा घले राजालाई काटेर मारेकोले आजसम्म त्यहाको पानी गुरुङ्घलेहरुले पिउदैनन l बिजय उत्सब मनाएको कुरा र पृथ्बीनारायण शाहले जयप्रकास मल्ललाई हराएर काठमाडौँमा दशैको सस्कृति भित्र्याएको ईतिहास हामी माझ छ । यो भन्दा पहिले काठमाडौँ उपत्यकामा दशैं मनाइन्थ्यो कि मनाइन्थ्यो ? बुझ्नु पर्ने कुरा हो यो । स्पष्टै छ, इन्द्रजात्र मनाइन्थ्यो तर दशैं मनाइदैनथ्यो । यी ईतिहासको कुराहरुलाइ यहि थाती राखी मुलुकको सांस्कृतिक जीवनको यथार्थको कुरा गरौँ ।
हाम्रो देश नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसास्कृतिक देश हो । यस्तो देश भित्र बस्ने जनताको मर्म र भावना अनुरुप वा उनै जनताको भाषा, धर्म, सस्कृति अनुरुप निती नियम बनाउनुको ठीक बिपरित एउटै जातिको भाषा, धर्म र सस्कृतिलाई सबै धर्मालम्बीहरुमा लादियो र यस्तो निती नियम मान्न बाध्य बनाईयो । दशैं सबैले मान्नु पर्ने बनाइयो । आज नेपालका सबै आदिवासी जनजातिहरु यो चाड मान्न तयार छैनन् । उनीहरु फेसबुक वा युट्युब जस्ता प्रभावशाली सामाजिक संजालहरुमा दशैंको चर्को विरोध गरिरहेका छन् । अर्कोतिर यथास्थितिवादीहरु चाही दशैंको विरोध गर्नेहरुले राजनीतिक चक्रव्यूहुमा मुलुकलाई फसाउन खोजेको भनेर राजधानीका ठुला ठुला दैनिक अखबारहरुमा दश थरी कुरा लेखेर छपाई रहेका छन् । अहिले दशैंबारे हाम्रो देश, नेपालको यथार्थ यहि नै हो । दशैंको विरोधमा कुनै कमि आएको छैन नेपालमा, सबैले यो कुरा राम्ररी बुझेका छन् ।
जनआनदोलन ६२-६३ को एउटा महत्तम उपलव्धी के हो भने सन २००८ मे २८ तारिख देखि नेपाल धर्मनिरपेक्ष राज्य धोषित भयो । आज हाम्रो अन्तरिम संबिधानमा मुलुकलाई धर्मनिरपेक्ष राज्य भनेर लेखिएको छ । यद्दपी मुलुक चाही हिन्दु धर्मसापेक्ष नै प्रतित हुन्छ । मुलुक धर्मनिरपेक्ष राज्य घोषित हुदा पनि सरकार र राज्य संयन्त्रद्वारा त्यहि पुरानै नितिनियम अनुसार राज्यको ढुकुटीबाट करोडौं रुपिया एउटै धर्मालम्बीको पर्वमा खर्च गरिनु र आधा महिना सरकारी बिदा दिइनु भनेको यो अन्तरिम संबिधानको मर्म र भावना विपरित जानु हो । अर्थात जनताको चाहना विपरित जानु हो ।
अति खट्केको कुरा चाही के हो भने एमाओंबादीले हिजो हिन्दु अतिबादी र सामन्ती राज्य संरचनाको घोर बिरोध गर्दै उत्पीडित जाति, बर्ग, लिङ्ग र क्षेत्रको मुद्दा बोकेर यी उत्पिडनमा परेका जाति, बर्ग, लिङ्ग र क्षेत्रको गुमेको अधिकारहरु हामी सुनिश्चित गराईदिन्छौ भन्दै दश बर्षे जनयुद्द गरि हजारौ उत्पीडित जनताहरुलाई शहीद बनाई ठुलो दल हुन सफल भई सरकारको दुइ दुइ पटक नेतृत्व गरेरहेको अबस्थामा पनि त्यहि पुरानै हिन्दु अतिबादी सामन्ती राज्य संरचनाको बिभेदपुर्ण निति नियम र धर्म सस्कारलाई नै बढ्वा दिनु भनेको ति सत्र हजार भन्दा बढी शहीदहरुको, उनीहरुको भाषामा भन्ने हो भने "महान वलिदान" र शहादतको अवमूल्यन गर्नु भन्दा अर्को के गरिएको हो त ?
यदाकदा एकाध हिन्दुधर्मालम्बी बुद्धिजिबीहरुले पनि दशै पर्बलाई सामान्तबादको जरा या त्यसलाई पक्षपोषण गर्ने गरिब निमुखा जनताको लागि दशै दशाको रुपमा ब्याख्या र विश्लेषण गरेको नदेखिएको नसुनिएको होइन । यी कुरा सोर्है आना सही हुन् । हाम्रो देश नेपालमा धेरै जनता गरिबीको रेखा मुनि छन् । दशै पर्ब भनेको धनी, धनाड्य वर्ग र राज्यको ढुकुटीबाट हाली मुहाली गर्न पाउनेहरुको लागि मात्र हो । गरिब जनतालाइ यो पर्ब अति नै ठुलो दशाको रुप लिएर आएको हुन्छ । किन कि समाजमा चलेको चलन अनुसार चल्नै पर्यो । आफ्नो परिवारलाई यस्ता चाड पर्वहरुमा सुखी वा खुशी देख्न को चहादैन र ? तर हाम्रो समाजका गरिब निमुखा जनताका लागि यो चाड कुनै खुशीको ढोल बजाएर होइन दुस्खको सनाही बजाएर आएको हुन्छ । त्यसैले परिवारको खुशीको लागि ऋण लिएर दशैं मान्नु पर्ने अवस्थामा छन् वहुसंख्यक नेपालीहरु आज । यो दुखद चालचलन वा परिपाटीको अन्त्य हुनु पर्दछ ।
नेपाल शान्तिका अग्रदुत, अहिंशा र करुणाका प्रतिमूर्ति गौतम बुद्ध जन्मेको देश हो तर यो हिन्दु धर्मालम्बीहरुको दशै पर्बमा ठुलो मात्रमा राज्यको ढुकुटी खर्च गरेर निर्दोष पशुहरुको वली दिइने वा दिन लगाउनु कहासम्मको जायज कुरा हो ? यसले अन्तराष्ट्रिय क्षेत्रमा नेपालको छबी राम्रो देखिन जादैन l
अन्तमा, मुलुकमा आपसी सहिष्णुता र सामाजिक सद्धभावको अभिवृद्धि गर्न राज्यले सबै जातजातिहरुको भाषा, घर्म, संस्कृति चाडपर्व र रितिरिवाज वा परम्परालाई हेर्ने दृष्टिकोण एउटै र समान बनाउनु पर्दछ । सबै धर्मालम्बीहरुको संस्कृति र चाडपर्वहरुको सम्मान गरी सरकारी सहयोग समान रुपमा उपलब्ध गराउनु पर्दछ । सरकारी निकायहरुमा समान सार्बजनिक बिदा दिई यो बिभेदपुर्ण निति नियमलाई हटाई आजैदेखि राज्यले सबै धर्मालम्बीहरुको संस्कृति र चाडपर्वहरुलाई सम्मान गरी सहिष्णुता र सामाजिक सद्धभाव बलियो बनाउनका निम्ति भूमिका खेल्न सक्नु पर्दछ

No comments:

Post a Comment