Saturday, October 27, 2012

गोरेबहादुर खपाङ्गी र दशै टीका

बलदीप प्रभाश्वर चामलिङ

जब हिन्दुहरुको दशै आउन थाल्छ तव विरोधीहरुले दशै टिकाको विषय लिएर गोरेबहादुर खपाङगीको प्रसङग जोडिदिन्छ । अनि हाम्रो अपाङग समाजले खपाङगीलाई खिसिटिउरी गर्ने मेलो पाउछ । त्यो समाजले खपाङगीको अर्थ बुझ्दैन । खपाङगीको महत्व बुझ्ने हैसियत राख्दैन । खपाङगी को हुन भन्ने कुरा विरोधीले बनाइदिएको धारणामा नै अल्झिराखेको समाज छ हाम्रो । तर खपाङगीको एक कालखण्डलाई बिर्सिदिने हो भने हामी चैत्र बैसाखको बाझो बारीमा पानी चढेको “नाभो आलु” जस्तै हुन्छौ ।

जुनबेला खपाङगी राष्ट्रिय जनमुक्ति पार्टीको महासचिव थिए । संयोगले मन्त्री हुने सौभाग्य वहालाई मिल्यो । त्यस बेलाका राष्ट्रअध्यक्ष ज्ञानेन्द्रले परम्परा अनुसार राज्यका मन्त्रीहरु, दलका नेताहरु, कर्मचारी र सर्वसाधरणालाई टिका लगाइदिने क्रममा खपाङगीपनि छुट्ने कुरा भएन । उनले पनि टिका राजाको हातबाट बरण गरिदिए ।
बस, यति भए पुग्यो विरोधीहरुलाई । विरोधीले यस घटनालाई खपाङगीको व्यक्तित्व फिसोल्नको लागि भरमग्दुर प्रयास गरे ।  सिगो जनमुक्ति पार्टीलाई नै धारासायी बनाउने खेलमा जुटे । वहा लागायत जनमुक्तिको शुभचिन्तक र समर्थकहरुलाई विरोधीले भने, “ हिजो आफैले दशै टिका बहिस्कार गर्न लगाउने तर आज पद पाएपछि आफैले टिका लगाउने ।”
जो प्रजातन्त्रको हिमायती थिए र राजनीति बुझेका थिए, उनिहरुले यस आरोपलाई स्वीकार्ने कुरै भएन । तर नागरिक हुन नसकेका भुद्धु समाजले त्यसलाई पत्याइ हाले । खपाङगीलाई उपहास पो गर्न थाले । खपाङगी को हो र उनको राजनीतिक दर्शन केहो भन्ने कुरा भेउ नपाउनेहरुले आझैसम्म खेदो खनिरहेको छ । यो हो विडम्बना ।
खपाङगी कुनै जाति, समुदाय, वर्ग, धर्म, सस्कृति र सभ्यता बिरोधी नेता हुनुहुन्थेन । सवै जाति समुदाय र वर्गको जनताहरुलाई न्याय र समानताको आधारमा अधिकार दिएर मुलुकमा जातीय सद्भाव र राष्ट्रिय एकाता कायम गर्नु पर्छ भन्ने राष्ट्रिय जनमुक्ति पार्टीको नेता हुनुहुन्थ्यो । खपाङगी न बाहुन विरोधी न हिन्दु धर्म विरोधी नै हुनुहुन्थ्यो । मात्र,  वाहा र वहाको पार्टी कुनैपनि प्रकारको एकाधिकार विरोधी थिए ।
खपाङगीले त सत्य कुरा मात्र बताइ दिनु भएको थियो । इतिहास बताइ दिनुभएका थिए कि जनजातिहरुको वंशीय धर्म हिन्दुधर्म होईन र त्यसो भएको हुदा उनिहरुको दशैमा टिका लगाउने सस्कारपनि होइन । मात्र तथ्यलाई उदघाटित गरिदिनु भएका थिए । यसो भनिरहदा फेरि यसको अर्थ यो होईन कि कुनै जनजातिले हिन्दुधर्म मान्नु हुदैन । यो व्यक्तिको स्वतन्त्रता र मानवअधिकारको कुरा हो । व्यक्तिले हिन्दुधर्म मानोस् वा बुद्ध । यो चासोको विषयपनि भएन । तर जनजातिहरु हिन्दुधर्म विरोधी हुनुपर्छ भनेर एलान त खपाङ्गीले गर्नु भएको थिएन । यस्तो कुरा समाजले अझै बुझ्न भ्याएको छैन ।
खपाङ्गीले त्यो बेला दशैमा टिका लगाइदिनु भनेको हिन्दु सस्कारलाई अवलम्बन गरेको नभएर , कदर मात्र गरिदिएको हो । यहा भन्दा ठूलो हिन्दु धर्मप्रति सदासयता अरु के हुन सक्छ एउटा प्रजातान्त्रिक नेतालाई ? तर यो समाजले “ कदर” र “अवलम्वन” को अर्थ र भेद अझै पत्ता लगाउन सक्दैन । कस्तो विडम्बना ।
नेता भनेको त सार्वजनिक महत्वको व्यक्ति हो ।  उ देश हाक्ने मान्छे हो । खपाङ्गी त्यो बेला बेला एउटा समुदाय र जातिको मन्त्री मात्र हुनुहुन्थेन । सिगो नेपाली जनताको मन्त्री हुनुहुन्थ्यो । कसैले मन्त्रीलाई कुनै कार्यक्रममा बोलाएर स्वागत गर्छ भने उसले त्यो कार्यक्रम कुन जाति र समुदायले गरेको हो भनेर भेद गर्न मिल्छ ? यो मुलुकको  सबै धर्म सस्कृति राष्ट्रिय निधि हो भन्ने राजनीतिक पार्टीको दर्शन बोकेको मन्त्रीले दशैको टीका बहिस्कार गर्न सक्थ्यो ?
यदि खपाङीलाई दशैको टिकाले हैरान पार्नेहरुले यि प्रश्नहरुप्रति पनि गम्भीर हुन जरुरी छ –
धर्म भनेको अफिम हो भन्ने प्रचण्ड र बाबुरामहरुले भूमिगत राजनीतिबाट बाहिर आएर बाबुआमाका साथ किन मनकामनामा भाकल गर्न गए ? मन्दिर र कम्युनिष्टमा के त्यस्तो सैद्धान्तिक सामिप्यता छ ?
भौतिकवादी नेता प्रचण्ड सुनसरीको बराह क्षेत्र गएर किन भैसी पुजा गरे ?
कामरेड माधव नेपालले राजा ज्ञानेन्द्रलाई भेटी चढाएर दण्डवत गर्नूमा कुनै वैचारिक तालमेल थियो ?
के यि प्रश्नहरुको जवाफ छ खपााङगीले टिका लगायो भनेर आपती गर्नेहरुसंग ? ति नेताहरु त सिद्धान्तले नै स्खलित हुन । बदमासी हुन् । के खपाङगीले त्यो बेला टिका लगाउनु भूल थियो ? यो कुनैपनि विचलन नभएर  हिन्दुधर्मावलम्बीहरुको अस्थाप्रतिको सम्मान थियो । नबुझ्नेले त बुझेनन् तर बुझ्नै पर्नेहरुले  पनि नबुझिदिदा समस्या भयो ।
तर एक इतिहास बोकेको खपाङगी आज कहा छन् ? किन वहाको उपस्थिति देखिन्न ? के वहाले त्यस्तो अपराध नै गर्नुभएको थियो ताकी वहाले मुख लुकाउन परोस् ? के खपाङगीले देश बन्धक बनाउनु भएको थियो ? नदीनाला बेचेर खानुभएको थियो ? कुनै देश द्रोह र भ्रष्टाचारको कलंकको कारण वहाले गुपचुप बस्नु परेको हो ? आफैले सिलाएको जनमुक्ति पार्टीको झण्डाले आफ्नो लास ढाकिन्छ भन्ने त्रासले राजनीतिबाट पालयन हुन खोज्नु भएको त होइन खपाङगी ? जुन पार्टीमा खपाङगीले योगदान दिए, जस्को कारण विरोधीहरुसंग पैठेजोरी खेल्नुपरयो, आज त्यो पार्टीको साख उचो नपार्दै विश्राम लिन खोज्नु “वीष नभएको सर्प र ईख नभएको मान्छे” जस्तै हुनु होइन र ?  इतिहास हार्ने तरिकै यहि हो ।
पक्कैपनि हिजो जनमुक्तिमा लाग्नु भन्दा पहिले वहाले अर्को पार्टी छाडेर धरातलमा आउनु भएको थियो । साथै वहाले बाहुन सहपाठीहरुलाई पनि छाड्नु भएको थियो । वहाका ति साथीहरुले वहालाई पक्कैपनि गिज्याएका थिए । हासो गरिदिएका थिए कि अब खपाङगी साम्प्रदायिक जातिवादी हुने भो भनेर । तर आफ्नो निर्णय र विवेक सहि थियो भनेर आफ्नो कदमको पुष्टी गर्ने वेलामा खपाङगीको शीर झुकेको होईन ठाडो भएको हेर्न चाहन्छ आजको जनजाति । हो, वहाकै विचारलाई मान्ने हो भने यो देशका जनजातिहरु वेलायतका गोर्डन ब्राउनका सौचालय साफ गर्न लर्कोलाग्छन् तर उनिहरुलाई आफ्नो देशको सिहदरवार फोहर भएको थाहा छैन । आफुलाई युगौयुग दासत्व भित्र कैद गर्ने त्यो सिहदरवार भित्रबस्ने सैतानहरुको हर्कतको कुनै वास्ता छैन । भारतमा एउटा लोकोक्ती छ,“ मर्द त त्यो हो जस्ले गवारलाई बुझाउछ” । हो अव नेपालमा त्यो बहादुरी हो जस्ले गवार जनजातिलाई बुझाउन सक्छ । आफैसंग भएको विना थाहा नभएर बाहिर भैतारी हिड्ने कस्तुरी झै जनजातिहरुलाई यथार्थताको बोध गराउने अभियानबाट पछि हट्ने होइन खपाङगी ।
विवेकानन्दको भनाइ यहा मर्मस्पर्शी छ यहा– दुनियादेखि भाग्ने होइन बरु दुनियालाई बदल्ने हो । त्यसमा जीवनको साख हुन्छ । कुनै व्यक्तिसंग झोक चल्यो भन्दैमा आफु वसेको रहेको ठाउ नै छाडेर भाग्ने होइन । त्यो ठाउलाई आफु अनुकुल बनाउने हो । त्यो हो नेताको विशेषता । जनमुक्ति पार्टीमा खपाङ्गी नरहेता पनि त्यहा वहाको “लिगेसी” छ । त्यो पार्टीमा जनजातिहरुको भावनात्मक सम्बन्ध छ । खपाङ्गीसंग पनि भावनात्मक स्वामित्व गासिएको छ । दोष बाहिर हैन आफै भित्र हुन्छ । माक्र्सवादले पनि भनेका छन्– कुनैपनि वस्तुको विनाश र  विकासको कारक चिज बाहिर होइन त्यहि वस्तुभित्र नै अन्तरनिहित भएको हुन्छ । यो सिद्धान्त खपाङ्गीमा कदापि लागु नहोस् किनकी अझैपनि घाम डाडामा पुगेको छैन । वहाले देखाउनु भएको लक्ष्य–दृष्य अझै धमिलो भएको छैन ।

No comments:

Post a Comment