Monday, October 29, 2012

प्रथम शहीद - लखन थापा मगर


लखन थापा मगर नेपालका प्रथम शहीद हुन् । क्रुर राणा शासन बिरुद्ध आवाज उठाउने उनी पहिलो व्यक्ती थिए । तत्कालिन समयमा उनी नेपाली सेनामा क्याप्टेन थिए जो जङ्ग बहादुर राणाका तानाशाही हुकुमी शासनका बिरुद्धमा उत्रेका थिए । त्यस बेला उनले आफैलाई स्वतन्त्र राज्यको राजा घोषित गरेका थिए र उनका मन्त्री थिए जयसिंह चुमी मगर, जो उनका हितैषी मित्र मात्र नभएर समर्थक पनि थिए । उनले बुङ्कोट गोर्खामा आफ्नो छुट्टै राजधानी स्थापित गरेका थिए जहाँ उनको आफ्नै तीनतले दरबार थियो साथमा सेना र परेड मैदान पनि । उनले आफ्नो नीति बिशेषत: क्रुर जङ्ग बहादुर राणाको तानाशाही शासन खत्तम बनाई एक स्वतन्त्र राज्य र ठुलो सेना स्थापना गर्ने प्रयासतिरै केन्द्रित गरे ।

तर बिडम्बना भनौं राणा सरकारले बि.सं. १९३३ फागुन ३ गते (सन् २७ फेब्रुअरी १८७७) को दिन सयौं मगरहरूले देख्‍ने गरेर गोर्खाको उनकै गाउँमा लगेर खिरौंको रुखमा झुण्ड्याएर फाँसी दियो । यसरी स्वतन्त्रताको लागि संघर्षरत एक बीरको सार्वजनिक स्थलमै क्रुर तानाशाहीहरूले निर्ममतापूर्वक हत्या गरिदिए । यसरी उनी नेपालको ईतिहाँसमा पहिलो शहीद भए । उनले नेपालको ईतिहाँसमा कालो दिन भनेर मानिएको १०४ बर्षिय क्रुर जहानियाँ राणा शासनको अन्त्यको लागि आन्दोलनको शुरुवात गरेका थिए । स्मरणीय रहोस् उनले मर्ने बेलामा यदि जङ्गेले उनिलाई फाँसी दिएको खण्डमा त्यसको एक हफ्ताभित्र उ पनि मर्नेछ भनेर घोषणा गरेका थिए र त्यस्तै पनि भयो ।
बिडम्बना भनौं देशमा प्रजातन्त्र आगमन भएको लामो समय बितिसक्दा पनि नेपाल सरकारले बीर शहीद लखन थापा मगरलाई अझैंपनि औपचारिकरुपमा सम्मान गर्न कन्जुस्याँई गरेको तथ्य स्पष्‍ट छ । उनलाई ढिलो गरी (सन् २००० फेब्रुअरी २३ मा) शहीद घोषणा गरेर नेपाल सरकारले नाममात्रको औपचारिकता पुरा गरेको छ । यसको ज्वलन्त उदाहरण भनेको अधिकांश नेपालीहरूलाई उनी नेपालका प्रथम शहीद हुन् भन्ने तथ्य ज्ञात नहुनु हो । यद्धपि उनलाई अन्य चार शहीदहरू (गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द) को हाराहारीमा राखी नेपालको प्रथम शहीदको रुपमा सम्मान गर्नु सरकारको दायित्व हो भन्दा फरक नपर्ला ।
(जङ्ग बहादुर राणाको वास्तविक नाम जङ्ग बहादुर कुँवर थियो । उनले पछि आफैलाई राणा घोषित गरेका थिए । साथै आफ्नो कुटिल षड्यन्त्रद्वारा कोतपर्वमा भयानक रक्तकाण्ड मच्चाएर अर्थात् बिपक्षीतर्फ सम्पूर्णको हत्या गराई शासनसत्ता आफ्नो कब्जामा पार्न सफल भएका थिए र पछि आफ्नो मातहतका राणालाई श्री ३ घोषित गरी श्री ५ लाई पनि श्री ३ को मातहतमा राख्‍न सफल भएका थिए।)
- देव बहादुर राना (कमल)

No comments:

Post a Comment