Monday, December 10, 2012

बहादुर शाह र अन्य षड्यन्त्रकारीहरुले सर्वजित राना मगरको अनाहकमा ज्यान लिइएको देखिन्छ ।


______________________________________________________________

1) राजा पृथ्वी नारायण शाहको मृत्यू सन् 1775 मा भयो ।

2) त्यसपछि उनको जेठा छोरा प्रताप सिंह शाह नेपालको राजा भए । उनको मृत्यू पनि मात्र 26 वर्षको उमेरमा सन् 1777 मा भयो । तर उनको त्यो मृत्युलाई, प्राकृतिक मृत्यु भएको भनिएको छ ।


3) प्रताप सिंह शाहको मृत्यू पछि रण बहादुर शाह 2 वर्ष र 6 महिनाको मात्र हुदा राजा बनाइए । उनकी माता राजेन्द्रलक्ष्मी शाह रण बहादुर शाहकि नायब भई शासन गर्न लागिन ।

4) राजमाता राजेन्द्र लक्ष्मी माथि मूलकाजी सर्वजित राना मगरसंग अनुचित सम्बन्ध कायम गरेको अभियोगमा जेल हाल्ने काम गरियो ।

5) सम्बत 1835 साल भाद्र सुदि 11 रोज 4 का दिन श्री 5 महाराज कुमार बहादुरशाहको प्रथम शासनारम्भ भएको भन्ने बहादुर शाहको लाल मोहरमा लेखिएको छ । सोही दिन अर्थात सम्बत 1835 साल भाद्र सुदि 11 रोज 4 का दिन काजी सर्वजित राना मगरलाइ पनि राजमाता राजेन्द्र लक्ष्मीसंग अनुचित सम्बन्ध कायम राखेकाले काटेर मारियो भनिएको छ ।

6) बहादुर शाहलाइ पनि रण बहादुर शाहलाई मारेर आफु राजा बन्न चाहेको भन्ने अभियोग लगाई जेल हालियो र उनलाई पनि जेलमा नै सन् 1794 मा मारियो भनिएको छ ।

7) रण बहादुर शाहलाइ पनि उनका सौतेला भाइ शेर बहादुर शाहले 1806 अप्रिल 25 का दिन तरबार प्रहार गरेर मारे ।

टिप्पणी :
_______

क) प्रताप सिंह शाहको मृत्यू मात्र 26 वर्षको उमेरमा भएको हुदा महारानी राजेन्द्रलक्ष्मी शाह पनि 26 वर्ष वा त्यो भन्दा पनि कम उमेर कि युवती थिइन् किनभने पति भन्दा पत्नीको उमेर कम हुनै पर्ने हिन्दु रितिरिवाज नै चल्थ्यो त्यतिबेला ।सरकारी कागजपत्रमा जे लेखिए पनि प्रताप सिंह शाहको 26 वर्षमा नै मृत्यू हुनु स्वाभाविक लाग्दैन ।

ख) प्रताप सिंह शाहले आफ्ना बाबु राजा पृथ्वी नारायण शाहले शुरु गरेको एकिकरणको अभियान अनुसार मुलुकको सिमाना बढाउने उद्द्योग गर्न नसकेकामा उनका महत्वाकांक्षी भाइ बहादुर शाह सन्तुष्ट नभएको अनुमान गर्न सकिन्छ । बहादुर शाहलाई पनि आफू राजा बन्न चाहेको भन्ने अभियोग लगाई जेल हालियो । र, उनलाई पनि जेलमा नै सन् 1794 मा मारियो पनि भनिएको छ ।

ग ) सम्बत 1854 साल बैशाख वदी रोज 2 का दिन ल्हाशा पोतला दरबार का " ताजिनका हजुर" मा रण बहादुर शाहले आफ्नो लालमोहरमा पेश गरेका 12 सवालको उत्तर मद्धे सवाल नम्बर 2 को जवाफमा " श्री महातारीज्यूलाई नहुदो बातलाइ नेल हाली सर्वजित रानालाइ पनि काट्यो श्री महातारीज्यूलाई भोट पुरयाउनु मलाइ मारी दाख चोकको इनारमा पुर्नु भनी मतो गर्दा .." भनेर बहादुर शाहले बिराउ गरेको भन्ने लेखिएको छ । यसमानेमा बहादुर शाह र अन्य षड्यन्त्रकारीहरुले सर्वजित रानाको अनाहकमा ज्यान लिइएको देखिन्छ ।

घ) राजमाता राजेन्द्र लक्ष्मीले सन् 1778 मा सर्वजित रानालाइ मूलकाजी बनाइन । विधुवा युवती राजमाताको सर्वजित रानासित अनुचित सम्बन्ध भएन होला भन्न त सकिन्न । तर, त्यसबेला सर्वजित राना पनि विधुवा युवती राजमाताका मन पर्ने उनकै उमेरका एउटा आकर्षक युवा थिए होलान त ? हुन त यो एउटा काल्पनिक प्रश्न हो ।त्यो मूलकाजी पद पाउने सर्वजित रानाको त्यसबेला एउटा प्रौढ उमेरका व्यक्ति थिए भन्ने अनुमान लगाउन पाइने वा नपाइने ? किनभने काजी पद यसैपनि एउटा वरिष्ठ सरकारी पद हुनु पर्छ त्यसबेला पनि । यसमानेमा अनुमान गरौ कि सर्वजित राना एकजना प्रौढ व्यक्ति थिए; एउटा प्रौढ व्यक्तिसंग विधुवा युवती राजमाताले अनुचित सम्बन्ध कायम राखिन होलिन त ? जे भए पनि सर्वजित रानालाइ विधुवा युवती " राजमातासंग अनुचित सम्बन्ध नराखेको " भन्ने कुरा रण बहादुर शाहको सम्बत 1854 साल बैशाख वदी रोज 2 को लाल मोहरमा लेखिएको छ ।

No comments:

Post a Comment