Friday, December 7, 2012

बाहुनवाद !


                                            

दलित तथा जनजाति जागरणपछि नेपालमा एउटा शब्द बहुचर्चित छ, बाहुनवाद। यो शब्द सुन्नेबित्तिकै सिंगै ब्राह्मण समुदाय आफ्नो अपमान भएको महसुस गर्छ। साँच्चै बाहुनवाद ब्राह्मण समुदायलाई अपमान गर्न बनेको शब्द हो त? कुरा त्यस्तो होइन। हिन्दू धर्मको एउटा प्रमुख विशेषता वर्णाश्रम व्यवस्था हो। यसअनुसार ब्रह्मको मुखबाट जन्मेका बाह्मणले पूजापाठ र विद्या व्यवसाय, हातबाट जन्मेका क्षत्रीयले राजकाज र युद्ध, पेटबाट जन्मेका वैश्यले व्यापार र खुट्टाबाट जन्मेका शूद्रले यी तीनैको सेवा गर्नुपर्छ। शूद्रभन्दा ब्राह्मण, क्षेत्रीय, वैश्य के कारण श्रेष्ठ? यसको तर्कपूर्ण जबाफ कहीँ कतै दिँदैन।

हिन्दू धर्मको एउटा मूल मन्त्र हो- भाग्यम् फलति सर्वत्र, न च विद्या न च पौरुषम्। विद्या र पुरुषार्थ होइन भाग्य सर्वत्र फलदायी हुन्छ। यही भाग्यवादी अवधारणा अर्थात् भाग्यले गर्दा बाहुन भएर कोही जन्मन्छ र जन्मेकै कारण श्रेष्ठ मानिन्छ भन्ने मान्यता बाहुनवाद हो।
पुराण युगमा सारा ज्ञान र 'स्वर्ग'को साँचो ब्राह्मणको हातमा हुन्थ्यो। उसकै रायअनुसार राजा राज्य गर्थे। उसको अपमान भयो भने राजा आफन्तबाटै आलोचित हुन्थ्यो र 'परलोक' पनि गुमाउँथ्यो। रामायणको त्यो प्रसंग उल्लेख्य छ जहाँ दुर्वासा ऋषिका कारण राम, लक्ष्मणसहित सारा अयोध्याबासी सरयु नदीमा फाल हालेर आत्महत्या गर्छन्। हिन्दू धर्ममा बाहुनलाई दान नदिए अनेक पाप लाग्ने वर्णन छ। धर्मको नियमन बाहुनले गर्छ। धर्मग्रन्थअनुसार उसको कर्त्तव्य धार्मिक कर्मकाण्ड तथा धर्मसम्बन्धी विवाद सुल्झाउनु हो।
हिन्दू समाज कानुनले होइन, धर्मशास्त्रले चलेको हुन्छ। यसैले त्यहाँ बाहुन, क्षत्रीको अघोषित सर्वोच्चता छ। यस्तो समाजमा राज्यसत्ताभन्दा धेरै शक्तिशाली हुन्छ धर्मसत्ता। धर्मसत्ताले मानिसको मस्तिष्कमा डेरा जमाएको हुन्छ। राज्यसत्ताले बलपूर्वक मानिसलाई दास बनाउँछ। यसै कारण मानिस धर्मसत्ताको आलोचनालाई आफैँमाथि भएको आक्रमण सम्झन्छ। धर्मसत्ताको यति बलियो पकडको एउटै कारण हुन् पुरोहितजन जसले हजारौँ वर्षदेखि धर्मलाई समाजको प्राणका रूपमा व्याख्या गरेका छन्। धर्म नमान्दा अर्थात् ब्राह्मण सत्ता नस्वीकार्दा परिवार विघटन हुने, सामाजिक अपराध बढ्ने र मृत्युपछि पनि छुटकारा नमिल्ने डर धर्मशास्त्रले देखाएका छन्। यसले जनमानस कतिसम्म थरहरि छ भने उसलाई धर्म श्वास-प्रश्वासभन्दा पनि बढी जीवनको आधार हो भन्ने लाग्छ। राणाकालमा विद्रोहीमध्ये बाहुनलाई चारपाटा मुडेर देश निकाला गरिन्थ्यो। त्यही मुद्दामा मुछिएको अन्यलाई क्रूरतम मृत्युदण्ड दिइन्थ्यो। डोरबहादुर विष्टले आफ्नो किताब 'फ्याटालिज्म एन्ड डेभलपमेन्ट'मा नेपालको विकासमा बाहुनवादलाई सबैभन्दा ठूलो बाधक मानेका छन्।
पुराण युगका दुई प्रसंग उल्लेख्य छन्। अयोध्याका राजा रामले सम्पूर्ण वेद खारेर ऋषि बनिसकेका शम्बूकको बध तपस्यास्थलमै गरे। कारण, उनी शूद्र थिए। शुद्रले तपस्या गरेका कारण एक बाह्मण बालकको निधन भएको हल्ला फैलाइएको थियो। द्रोणाचार्यले एकलव्यलाई धनुर्विद्या दिन स्वीकार गरेनन्। तथापि उनैलाई गुरु थापेर एकलव्य कुरुकुलका राजकुमारहरूभन्दा निपुण भए। अनि द्रोणले उनीसँग बुढी औँला गुरुदक्षिणा माग्नुको कारण पनि शुद्रलाई श्रेष्ठ धनुर्वीर हुन नदिनु थियो। जन्मैले कसैलाई महान् र कसैलाई निकृष्ट बनाउने यही मध्ययुगीन प्रथाको मुख्य स्रोत बाहुनवाद हो। बाहुनवाद बाहुन कुलमा जन्मेका सबै व्यक्तिले फैलाएका होइनन्। यो त्यो पुरोहित वर्ग हो जो धर्म र ईश्वरको नाममा समाजमा आफ्नो सर्वोच्चता कायम राख्न चाहन्छन्। यसकै विरोधस्वरूप संघीय राज्य निर्माणको माग भएको हो। बाहुनवादको अन्त्य अनिवार्य छ तर, त्यसमा लागिपर्ने जनजाति र दलितले सही बाटो नअँगाल्दा यो शब्द सुन्नेबित्तिकै सम्पूर्ण ब्राह्मण समुदाय रन्थनिने स्थिति छ। यसको अन्त्यका लागि समताप्रेमी ब्राह्मणकै पनि साथ लिनु जरुरी छ जसरी पुरुषवादी सत्ता परिवर्तनका लागि महिलालाई पुरुष स्वयंकै साथ अनिवार्य हुन्छ।

No comments:

Post a Comment