Monday, June 9, 2014

तेरिया कसरी डीआइडीमा पुगिन्



बुटवल । रुद्रपूरको सुनगाभा चोकभन्दा १५ पाइलाजति उत्तरपूर्वमा रहेको एकतले घर पुग्ने बाटो पताकाले रंगाइएको । घरको उत्तरपट्टि टीनले छाएको भान्साकोठा, त्यसकै छेउमा गोठ । सामान्य खालको परिवार बस्ने ठाउँ, तर मानिसको चहलपहलले गाउँकै रौनक थपेको छ । ‘अहिलेसम्म यतिका मान्छे यो गाउँमै देखिएका थिएनन्, म त अचम्म परेको छु’–स्थानीय तथा बागेश्वरी संगीतालय बुटवलका यम पुनले भने । हुनपनि सडकमा आउनेजानेको भीड उस्तै । गाडीका गाडी मान्छे ओहोर दोहोर गरिरहेका । बिहीबार बिहानैदेखि सबैलाई एकखालको उमंग छाएको छ ।



छिमेकी मूलुक भारतको टेलिभजन जी टीभीको रियालिटी सो ‘डीआइडी लिटिल मास्टर’को अन्तिम ५ मा पुगेकी रुद्रपूर ६ सुनगाभा चोक रुपन्देहीकी तेरिया फौजा मगरको स्वागतको क्षणको शब्दचित्र हो यो । कसैले तेरियालाई जिताऔं लेखेका प्लेकार्ड हल्लाउँदै दौडेका छन् त कोही टिसर्टमा तेरियालाई जिताउन आग्रह गर्दै गाडीमा हुइकिएका छन् ।

भारतको मुम्बईबाट काठमाडौं ओर्लिएकी तेरियालाई काठमाडौं स्थित अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत भयो । त्यसपछि भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट घरैसम्म लावालस्कर लागेर अबिरजात्रा नै गरेर यस क्षेत्रका बासिन्दाले तेरियालाई स्वागत गरे । चोकचोकमा उभिएका समर्थकको शुभकामना बोकेर भीड छल्दै राती ९ बजेमात्रै तेरिया आफ्नै घर पुगिन् ।

घरको आगनमा पुगेकी तेरियालाई आफ्ना हजुरबुवा, हजुरआमा र आफन्तसँग भेट्न आधा घण्टाजति लाग्यो । नातिनी तेरियालाई सुमसुम्याउन आतुर भएका ६२ वर्षे कृष्ण फौजामगरले टाढाबाट हेरिरहे मात्रै । स्वयम्सेवकले जेनतेन समर्थकको भीडबाट निकालेर तेरियालाई घरमा भित्र्याएपछि हजुरबुवाले च्याप्प समातेर अंगालो हाले । धाप मारे र भने–‘अब जितेर आएस् ।’ आफन्तहरुले फुलमालाले स्वागत गरेर म्वाई खाए । सबै हेरेको हे¥यै भए ।

तेरियालाई माया गर्ने रुद्रपूरबासी बिहीबार रातभर जाग्राम बसे । आसपासका गाउँ र शहरका बासिन्दाले पनि रुद्रपूरबासीलाई साथ दिए । सुनगाभा क्षेत्रमा नाचगानले गाउँलाई नै उत्सवमय बनायो ।

२०५९ साउनमा जन्मिएकी तेरिया अहिले डीआइडी लिटिल मास्टरको अन्तिम पाँचमा पुगेपछि भोट माग्नका लागि आफ्नो गाउँमा छिन् । बिहीबार घर आइपुगेकी उनी शुक्रबार बिहानैदेखि रुपन्देहीमा भएका विभिन्न कार्यक्रमहरुमा सहभागी भईन् र आफ्ना लागि भोट गर्न अनुरोध गरिन् ।

जहाँ पुगेपनि उनको पछाडि समर्थकको लाम लाग्यो । यतिधेरै भीड देखेपछि मख्ख परेकी तेरियाले बिहीबार राती आफ्नै घरको कोठामा मुखमा लागेको अबिर पुछ्दै भनिन्– मलाई एकदमै खुशी लागिरहेको छ । मैले सबैजनालाई खुशी भइरहेको देखेकी छु । म यहाँसम्म पुग्नुमा मेरा हजुरबुवा, हजुरआमा, बुवा, आमा, दिदी, मेरा मामाहरु, मेरा सप्पै आफन्तहरुको मायाले हो ।’ भीड छल्दै छल्दै आफ्नाहरुसामु पुगेकी उनी सञ्चारकर्मीहरुमाझ उपस्थित हुँदा एकदमै खुशी देखिएकी थिईन् ।

उनको आत्मविश्वास उनका भनाईहरुमा झल्किरहेको थियो । ‘मलाई खासै बोल्न आउँदैन, तरपनि मलाई लाग्छ कि मैले डीआइडी जितेर आउँछु, सबैलाई खुशी बनाउँछु,उनले आफन्तहरुतिर देखाएर भनिन्,–त्यहाँ (भारतमा) बस्दा कहिले म मेरो घर पुगौं भइरहेको थियो, कहिले हजुरबुवा, हजुरआमा, दिदी, मामा, सप्पैलाई एकदमै मिस गरेकी थिएँ, एकदम धेरै मिस गरेकी थिएँ ।’

उनीसँगसँगै मुम्बईमा रहेकी उनकी आमा अनिता फौजामगर पनि कम खुशी छैनन् । बिहीबार छोरीलाई घर लिएर आएपछि भनिन्–मैले के भनौं मलाई केही भन्न आइरहेको छैन, मलाई एकदमै खुशी लागेको छ, यहाँ आउँदा यति धेरै भीड देखेर म खुशीले बेहोस नै हुन्छु कि जस्तो लाग्यो । मेरी छोरीलाई यति धेरै समर्थन गर्ने सबैलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, मेरी छोरीलाई जिताउनका लागि सबैलाई भोट गर्नुस् भन्छु ।’

बहिनीका पछाडि हजारौं मानिसको भीड देखेकी तेरियाकी दिदी रिक्मा फौजामगरले आफ्नो खुशी यसरी व्यक्त गरिन्–‘म यतिधेरै राम्री बहिनीकी दिदी हुन पाएकोमा एकदमै खुशी छु, म सबैजनालाई धन्यवाद दिन चाहन्छु र मेरी बहिनीलाई जिताउनका लागि पनि भोट गर्न अनुरोध गर्न चाहन्छु ।’

तेरियाका मामा खेमबहादुर क्षेत्री, प्रकाश क्षेत्री, रुद्रपूर सामुदायिक विकास केन्द्रका गोपाल केसीलगायत उनका आफन्तहरु, रुद्रपूरबासी सबैले तेरियाका लागि भोट गर्न आग्रह गरेका छन् । तेरियाका अरु सबै आफन्तहरु खुशीयालीमा प्रत्यक्ष सहभागी भएपनि उनका बाबु विजय फौजामगर भने रोजगारीको शिलशिलामा विदेशमा रहेकाले फोन र भिडियो कलमार्फत खुशी साटेका थिए ।

तेरिया कसरी डीआइडीमा पुगिन् (तेरियाका हजुरबुवा कृष्ण फौजामगरसँगको कुराकानी)
तेरियाको बाबुआमा नै राम्रो नृत्य गर्छन् । सबैले उनीहरुको गुण दोब्बर भएर तेरियामा आएको छ भन्छन् । ऊ सानैदेखि नाच्न भनेपछि हुरुक्कै हुने । टिभीमा केही गीत आए नाचिहाल्ने । गाउँमा केही कार्यक्रम हुँदा पनि उनी नै नाच्न अघि सर्थिन् ।

खै कस्तो सोख पलाएर आएछ उसलाई, नाच्नकै लागि जन्मेजस्तो गर्थी । सानैदेखि मसँगै हुर्की, बढी, स्कुल गई । मैसँग खेल्दै सिकी सबै कुरा । पहिलेदेखि नै उसलाई डीआइडीमा जान मन लागिरहेको थियो । टीभीमा हेर्दा उसले जहिले मलाई त्यहाँ लैजानुस् भन्थी । एकपटक लुम्बिनीमाा एउटा डान्स कम्पिटिसनमा लिएर गएँ । ऊ पहिलो भई ।

त्यसपछि त्यहाँबाट छानिएर काठमाडौं पनि गई । काठमाडौंमा १ लाख जितेर आई । त्यसपछि मलाई लाग्यो, उसले डान्समै केही गर्न सक्छे । उसले त्यसपछि एकदमै जिद्दी गर्न थाली । मलाई उसले सक्छे कि जस्तो पनि लाग्न थाल्यो ।

तर मलाई भारतमा पुराएर धेरै पैसा खर्च गर्नसक्ने हिम्मत थिएन । उसले काठमाडौंमा १ लाख जितेपछि भने केही थपथाप पारेर लैजान्छु भन्ने हिम्मत गरेँ । मेरो भतिजो उहीँ भारतमै बस्छ । उसले राम्रोसँग बुझ्नसक्छ कि भन्ने लागेर डीआइडीमा भाग लिन के गर्नुपर्छ भन्ने बारेमा बुझ्न लगाएँ ।

उसले बुझेर खबर ग¥यो । उताबाट खबर आयो, एउटा हिन्दी गीतमा नाचेको भिडियो खिचेर पठाउँनुस् । अनि तेरियाले सिक्ने गरेको बागेश्वरी संगीतालयमै गएर डान्स गरेको भिडियो खिचेर पठाइयो ।

उताबाट फेरि खबर आयो, तेरियाले भाग लिन त सक्छिन् तर एउटा उसकै लागि कोरियोग्राफर लिएर आउनुस् भन्यो । अनि कोरियोग्राफर कहाँ खोज्ने ? यसबारे केही थाहा थिएन । त्यही भतिजालाई भनेँ, एउटा कोरियोग्राफर खोजेर कुरा गर । उसले कहाँकहाँ खोजेर कुरा गरेर पनि सकाएछ, सार्थक मिश्र भन्ने कोरियोग्राफरसँग । अनि जीटीभीले बोलायो ।

१९ जनवरीमा अडिसन छ, १३ जनवरीमै तपाइँहरु तेरियालाई लिएर आउनुस् भन्यो । अनि मैले लिएर गएँ । त्यहाँ गएपछि थाहा भयो, एउटा गीत अडिसनका लागि २२ हजार भारु र ड्रेसका लागि १५०० भारु । त्यो खर्च होला कि नहोला भनेरै गरियो । अनि एकहप्ताका लागि तयारी शुरु भयो । त्यसपछि मात्रै अडिसनमा लग्ने भयो भन्ने ढुक्क भईयो । एक्कासी उसले के भन्यो भने, तपाईलाई मुम्बईबाट अडिसन दिलाउन सकिदैन, दिल्ली जानुस् भन्यो ।

यहीँबाट गर्न किन हुँदैन भनेँ । उसले भन्यो–मुम्बईमा धेरै राम्रा डान्सरहरु छन्, दिल्लीबाट अडिसन दिएर आए तपाईको बच्चा अघि बढ्न सजिलो हुन्छ भनेपछि बल्ल दिल्ली गइयो । दिल्लीबाट तेरिया पास भई । अनि मेघा अडिसनमा लैजाने भन्यो ।

फरबरी ८ मा मेघा अडिसन हुन्छ, त्यसमा पास भए तपाइँले केही खर्च गर्न पर्दैन, पास भएन भने घर फर्किने भन्यो । ठीकै छ भनेरै बसियो । मेघा अडिसन आयो । अनि मैले उसलाई मेघा अडिसनमा पास भईस् भने राम्रो घडी किन्दिन्छु भनेको थिएँ । उसले घडी लगाउन खुबै रहर गर्थी । मेघा अडिसन पनि पास भई । एकदमै खुशी भएँ । उसलाई मैले ७ सय भारुको घडी किनिदिएँ, ऊपनि खुब खुशी भएकी थिई ।

त्यतिन्जेल हाम्रो डेढलाख जति भारु खर्च भइसकेको थियो । खर्च भएपनि नातिनीको भविष्य बन्छ भने खर्च गर्छु भनेर खर्च गरेँ । डेढ महिनाभन्दा बढी त्यहाँ बस्दा म बिरामी नै भएँ । अनि उसलाई पनि आमाको अभाव महसुुस भएजस्तो मलाई लागेको थियो । हजुरबुवासँग खेल्न त खुब रमाइलो लाग्थ्यो उसलाई । तरपनि आमासँग जस्तो जेजति गरेपनि नहुने रहेछ । अनि मपनि बिरामी भएको । उसलाई पनि आमा भएहुन्थ्यो जस्तो लागिरहेको थियो ।

त्यसपछि म घर फर्केँ र उसकी आमा अनितालाई त्यहाँ पठाइदिएँ । घर आएपछि यहाँ बसेर मैले हेरिरहन्थेँ सधै । आफ्नी नातिनी भएर भनेको हैन, उसले एकदमै राम्रो गरी । सबैभन्दा राम्रो गरेकी छ । मलाई त लाग्छ, डीआइडीको ताज जित्नकै लागि मैले उसलाई त्यहाँसम्म लिएर गएको हुँ ।

No comments:

Post a Comment