Saturday, July 13, 2013

हाम्रो नेता खपाङ्गी!!!

खपाङ्गीहरुले देखेको सपनामा आज देश हिंडिरहेकोछ । समानुपातिक प्रतिनीधित्व मुद्दा के कम्युनिष्ट के काग्रेंस के राप्रपा सबैले मुख्य नारा बनाएकाछन् । आरक्षणमा त देश उहिल्यै अगाडि बढिसक्यो । राज्यका हरेक निकायमा भैरहेको आरक्षणको ब्यावहारिक अभ्यासले अहिले उपेक्षित जाति र समुदायबाट थुप्रा जनशक्ति निस्किरहेकाछन् । आधा नै सहि समानुपातिक निर्वाचन प्रणालीको अभ्यास संविधानसभामा भैसकेकोछ र नेपालका लागि त्यो उपर्युक्त रहेछ भन्ने कुरा सिद्ध भैसकेकोछ र त्यसमा सबै एकमत पनि देखिन्छन् ।
डा. रामशरण महतले मिश्रित अर्थब्यवस्थामा देशलाई डोहोर्याएपछि त्यसले आर्थिक गति पक्रिएको विश्लेषण गरिन्छ, जुन भारतमा ९० को दशकमा लागु गरेर भारतको पनि उन्नति भएको ठानिन्छ । नेपाल जस्तो जलविद्युतको खानी भएको देशमा रोपवे र केवलकार उचित हुन्छ भन्ने सिद्धान्तलाई मनकामना लगायतका केवलकारको सफलताले गज्जबले पुष्टि गरिदिएकोछ । संघीयता विना देश विकास नहुनेमा लगभग सबै एकमतले राजी देखिन्छन्, अब यो मात्र परिक्षणको मुखमा छ ।
यस्तो देश सुहांउदो सिद्धान्तलाई २५ बर्ष अघि पर्गेल्न सक्ने टाउकाहरु मध्ये अब केहि मात्र बांकी छन् । भद्र घले राजनीतिमा निष्क्रिय छन् भने काजीमान कन्दङ्वाको देहावसान भैसकेकोछ । माथिको बिचारलाई आफ्नो अदभुत वतृत्वकलाको बलमा देशको गांउगांउमा पुर्याउने खपाङ्गी नै हुन् । केहिको विश्वासमा यदि अशोक सम्राटले बौद्ध दर्शन फैलाउन राज्यशक्ति उपयोग नगरेकोभए बुद्धले प्रतिपादन गरेको लोककल्याणकारी शिक्षा तत्कालिन अवस्थामा एशियाभर फैलन संभव नै नहुने ठानिएजस्तै यदि नेपाली धरतीमा खपाङ्गी नजन्मिएकाभए अहिले नेपाली राजनीति र समाजको केन्द्र रहेको मुद्दाहरु यो स्तर सम्म आउन अझै दशकौं लाग्न सक्थ्यो ।
मीडिया, राज्य, दलहरुको लाख कोशिसका बावजुद उनीहरुको नाकाबन्दी छिचोल्दै पहिचानको राजनीतिलाई यहांसम्म ल्याउन सक्ने ल्याकत भएको मान्छे खपाङ्गी नै थिए । त्यसैले यस्ता नेता नेपाली राजनीतिमा जन्मिएकोछैन भनिएको हो । राजनीति गर्न नेपाली धर्ति विपी कोईराला, मदन भण्डारी, पुष्पकमल दाहालहरुका निम्ति जति सहज थियो त्यसको दांजोमा हरेक दृष्टिकोणबाट केलांउदा खपाङ्गीहरुका निम्ति सयौं गुणा अप्ठ्याराहरु रहेकोले यहां खपाङ्गीका हकमा अतिरन्जना लाग्ने त्यस्तो दावी गर्ने धृष्टता गरिएको हो ।

खपाङ्गी माक्र्स हैनन् तर योगदानको हिसाबले उनी नेपालका निम्ति लेलिन, स्टालिन, माओ भन्दा कुनै पनि अर्थमा कम छैनन् । नेशनल मण्डेला र महात्मा गान्धीको नेपाली संस्करणको रुपमा उनको भूमिका बुझ्दा कोहि सानो हुनु पर्देन ।
कथित मुलधारका दलले जाति–जाति लडाउने नीति ल्याई समुदायका हातमा हतियार थमाई समाजलाई जातीय ध्रुबीकरणतिर लैजादा खपाङ्गीहरुले कहिल्यै त्यो बाटो चुन्न उपर्युक्त ठानेनन् ।
त्यतिखेर करिब १ लाख मत पाएको दलले चाहेको भए समाजलाई चर्कँे जातीय नाराको बलमा त्यस्तो हिंसक जातीय द्धन्द्धको दलदलमा सजिलै फंसाईदिने हैसियत राख्दथ्यो । प्रचण्डहरुले उठाए जस्तो त्यसको तत्कालिन फाईदा उठाउन सकिने प्रशस्त मौका उनका अगाडि थिए । पक्तिंकारले खपाङ्गीसंग १५ बर्ष अघि यहि प्रश्न सोध्दा उनले दिएको जवाफ बडो मार्मिक थियो ,‘ यदि हामीले चाहेकोभए मैले एउटा भाषण गरेको भोलिपल्टैदेखि जनजाति युवाहरु हातमा हतियार बोकेर जंगलमा पस्न शुरु गर्नेछन् । तर त्यो महत्वपूर्ण कुरा होईन ।
जातीय रुपमा उद्देलित हतियार बोकेका युवाहरुलाई ब्यवस्थापन गर्न सजिलो छैन । मैले फाईदा लिन सकुला तर त्यसले ठूलो तवाही ल्याउनेछ । तिनलाई घर फर्काउन सकिदैन । पहिचानको लडाई कम खतरनाक हुंदैन । त्यसैले हामी युवाहरुलाई हतियार बोकाउने पक्षमा छैनौं ।’ सशस्त्र संघर्षमा नगएको भन्दै कुमार लिङ्देन, कमल छाराहाङ् जस्ता हालका चर्चित युवा नेताहरुले जनमुक्ति छाड्नुले युवाहरुमा त्यो उन्माद थियो भन्ने पनि बुझिन्छ । खपाङ्गीको अर्काे तर्क पनि दमदार थियो । उनको भनाईमा हतियार अल्पसंख्यकहरुले उठाउने हो ।
जनजाति र उत्पिडितहरु बहुसंख्यक भएको ठांउमा ‘बुलेटले हैन ब्यालेट’ले सत्ता लिनुपर्छ भन्ने उनको कडा मान्यता थियो । यसलाई उनी रोचक तरिकाले सुफियाना अन्दाजमा सुनाउंथे, ‘ ढिलो चांडो हुन्छ नआत्तिनोस् । खुदाके घर देर है अन्धेर नहि ।’ माओवादी जस्ता दलका कारण देशमा पहिचानको उग्र राजनीतिकरण हुदैं गैरहेको र त्यसले अब धार्मिक पुच्छर पनि समात्न थालेको संवेदनशील घडीमा देशलाई खपाङ्गी जस्तो मोडरेट र लोकतान्त्रिक नेताको अत्यन्त ठुलो खांचो छ । त्यस्तो उग्रता मत्थर गर्न सक्ने क्षमता, ब्यक्तित्व र ईच्छाशक्ति उनको तुलनामा अरुको छैन ।

करिब आधा दर्जन भाषामा धाराप्रवाह रुपमा बोल्न सक्ने उनको भाषण गर्ने शैली बिछट्टैकोछ । रमाईला उखान टुक्का सहि ठांउमा प्रयोग गर्दे उदाहरण सहित गर्नै उनको भाषण सुन्न सानो बच्चा देखि बृद्ध सम्म भेला हुन्थे । हरेक जाति समुदायले चाख मानिमानि सुन्थे । त्यसरी उनले आफ्नो कलाबाट देशभर पहिचानको मुद्दा घरघरमा पुर्याईदिएकाथिए, मान्छेको दिमाग दिमागमा छिराईदिएकाथिए । उनको दम्भपूर्ण आकर्षक ब्यक्तित्वले उनको कलामा ‘सुनमा सुगन्ध’ थपिदिएकोथियो । मदन भण्डारी र उनी समकालिन थिए । असामयिक निधनले भण्डारी देशभर घुम्न सकेनन् र उनको भाषण गर्ने शैली र राजनीतिको ब्यावहारिक परिक्षण पनि हुन सकेन ।
तर खपाङ्गीले आफ्नो कला, ब्यक्तित्व र आत्मविश्वासले नयां बिचारलाई देशको कुनाकुनामा फैलाईदिए । खपाङ्गीको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको उनले देशलाई जातीय द्धन्द्धको डरलाग्दो भुङ्ग्रोमा जानबाट जोगाईदिए । अहिले पनि उनी त्यसमा प्रष्ट छन् र हतियार हैन मतपत्रबाट सत्तामाथि काविज हुने निर्णयमा अडिग देखिन्छन् । त्यसमा उनी कहिल्यै बिचलित भएनन् । उनले शुरु गरेको दल जनमुक्तिले २३ बर्षदेखि अनवरत शान्तिपूर्ण राजनीति गर्नुले त्यो धैर्यताको रुप प्रष्ट देखिन्छ । पछिल्लो समय अशोक राई, पासाङ शेर्पाहरुले त्यहि लाईन अगिंकार गर्नुले उनको उपादेयता स्वतः बुझ्न सकिन्छ ।
तर यो सब गर्दा उनी जोगी भए ।
डा. भट्टचनले भनेजस्तै के खपाङ्गीलाई आदिवासीले नै 'मार्न खोज्या'हुन् ?

No comments:

Post a Comment